चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ?

  नयाँ बुलन्द
0 Shares

मस्को : सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधिने प्रश्न हो– चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ?

वर्षौंदेखि एउटै जवाफ हुने गरेको छ– नील आर्मस्ट्रंग ।

सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला त ? रुसले थालेको अनुसन्धानप्रति चासो राख्दै धेरैको मनमा यो प्रश्न उब्जिन थालेको छ ।

२० जुलाई १९५९ मा त्यो इतिहास बनेको हो, जब नील आर्मस्ट्रंगसहितको टोली पहिलोपटक चन्द्रमाको धरातलमा पाइला टेकेका थिए । अमेरिकाको एयरोनटिकल इन्जिनियर तथा सेनाका पाइलट नील आर्मस्ट्रंगले पहिलो पटक चन्द्रमाको धरातलमा पाइला टेकेर इतिहास रचेको मानिन्छ ।

सोही मिसनको सफलताका कारण अमेरिकाले अन्तरिक्ष अध्ययन तथा अनुसन्धानको दिशामा आफूलाई अग्रणी बनाउन सफल भएको हो । वर्षौंपछि इतिहासको उक्त घटनाका बारेमा अनेक प्रश्न उब्जिन थालेका छन् । केही प्रश्न आज पनि अनुत्तरित छन् । तिनै प्रश्नको उत्तर खोज्ने उद्देश्यले रुसले नयाँ अनुसन्धान गर्ने भएको हो ।

रुसको रोस्कोसमोस अन्तरिक्ष एजेन्सीका प्रमुख दिमित्री रोगोजिनका अनुसार रुसले चन्द्रमामा एउटा अनुसन्धान टोली पठाउने भएको छ । सो टोलीले अमेरिकाले भनेझैं २० जुलाई १९५९ मा एपोलो–११ यान चन्द्रमो धर्तीमा पुगेको थियो कि थिएन भन्नेबारे पत्ता लगाउनेछ । त्यतिबेला नील आर्मस्ट्रंग चन्द्रमाको धरातलमा पाइला टेक्न सफल भएका थिए कि थिएनन् भन्नेबारे अनुसन्धान गर्नु नै आफ्नो मिशनको मुख्य उद्देश्य रहने रोस्कोसमोसको भनाइ छ ।

कसरी हुन्छ अमेरिकी दावीको परीक्षण ?

१९५९ मा जब अमेरिकाले चन्द्रमामा मिशन पठाएको टोलीले चन्द्रमाको धरातलको केही तस्वीर ल्याएको थियो । ती तस्वीरको आधारमा रुसी टोलीले चन्द्रमाको धरातलमा पुगेर अनुसन्धान गर्नेछ ।

चन्द्रमामा आफ्नो वायुमण्डल नभएका कारण त्यहाँ हावा र पानी छैन । त्यसैले १९५९ मा नील आर्मस्ट्रंग चन्द्रमामा पुगेकै हो भने उनले टेकेको धरातल, त्यहाँ उनले गाडेको अमेरिकी झण्डा आज पनि हुनुपर्ने रुसको तर्क छ ।

त्यस अतिरिक्त उतिबेला नील आर्मस्ट्रंगले चन्द्रमाबाट ल्याएको भनिएको माटोसँग रुसी टोलीले ल्याउने माटोको समेत तुलना गरिने जनाइएको छ । जसबाट यो पत्ता लाग्नेछ कि, त्यतिबेला ल्याइएको माटो वास्तवमा चन्द्रमाकै थियो कि थिएन ?

किन उठ्यो प्रश्न ?

अमेरिकाले चन्द्रमामा आफ्नो टोलीले पहिलो पटक अवतरण गरेको दावी गरिरहँदा हाल कयौंले प्रश्न उठाउन थालेका छन् । कतिपयले त अमेरिकाले नै कृत्रिम स्टुडियो बनाएर चन्द्रमाका रुपमा देखाएको र चन्द्रमामा आफ्नो टोली पुगेको झूटो दावी गरेको बताउन थालेका छन् ।

उनीहरुका अनुसार नील आर्मस्ट्रंगले चन्द्रमामा गाडेको भनिएको झण्डाको तस्वीर नै सन्देहास्पद छ । वायुमण्डल विनाको चन्द्रमामा झण्डा कसरी फहराउँछ ? भन्ने उनीहरुको प्रश्न छ । तस्वीरमा नील आर्मस्ट्रंगले गाडेको झण्डा हावामा लहराएको देखिन्छ ।

त्यस्तै चन्द्रमामा लिइएको भनिएको तस्वीरमा तारा नदेखिनु पनि अनौठो मानिएको छ । भनिन्छ, उक्त ऐतिहासिक मिशनको ‘ब्लू प्रिन्ट’ आजसम्म किन कसैले आफूले देखेको दावी गर्न सक्दैनन् ? अमेरिकाले भने उक्त दस्तावेज हराएको जिकिर गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार