सरकारकै कारण संघीयता धरापमा : डा. कोइराला

  नयाँ बुलन्द
0 Shares

इलाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारकै कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् । प्रदेश सरकारलाई अधिकार नदिई प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नुले संघीयता धरापमा पार्न सरकार आफैं लागिपरेको पुष्टि भएको कोईरालाको आरोप छ ।

इलामको माई नगरपालिकास्थित दानाबारीमा स्थापना गरिएको पूर्व प्रधानमन्त्री विपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार संविधानको मर्मअनुसार अधिकार अगाडि बढ्न नसकेको आरोप लगाए । ‘स्थानीय र प्रदेश सरकारलाई संघीय सरकारले उचित परिचालन गर्न सकेन’ कोइरालाले भने, ‘संविधानको मर्म अनुसार अधिकार बाँडफाँडमा चल्न नसक्नुले सरकार आफैँले संघीयताको विश्वास नगरेको प्रष्ट हुन्छ ।’

शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसक्नु, दण्डहिनताको अन्त्य नहुनु, सुशासनको बाटोमा सरकार हिँड्न नसक्नुले देश असफलतातर्फ उन्मुख भएको उनको भनाई थियो । सरकारले समृद्धिका ठूल्ठूला नारा घन्काउने बाहेक सिन्को नभाँचेको आरोप लगाउँदै कोइरालाले जनताले सरकारको दिनगन्दी सुरु गरिसकेको दावी गरे ।

‘दुई तिहाईको सरकारले भाषणबाजी बाहेक केही गर्न सकेन । सुशासन कायम गर्न, महँगी नियन्त्रण गर्न र भ्रष्टाचारीलाई कारबाही चुक्नुले सरकारको कार्यशैलीप्रति जनता निराश छन्’ कोइरालाले भने ‘जनता यो सरकारको विकल्प खोज्न आतुर छन् ।’

नेपाली कांग्रेस माई नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजता परियार, प्रदेश १ का मुख्य सचेतक केदार कार्की, पूर्व सांसद केशव थापा, इलाम सभापती हिमालय कर्माचार्य, नेपाल शिक्षक संघ प्रदेश १ अध्यक्ष पुर्णप्रसाद गौतम लगायतले मन्तब्य राख्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न जनतालाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार