राइजिङस्टार विजेता श्रेष्ठको म्युजिक भिडियो बजारमा

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : मन्जरी कलाकेन्द्र राँकेले आयोजना गरेको ‘राइजिङस्टार भाग -१’ को नृत्यतर्फ द्वितीय स्थान हासिल गर्न सफल संकोच श्रेष्ठको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

भर्खरै बजारमा आएको ‘तिमिले म हिड्ने बाटोमा’ म्युजिक भिडियो डाइरेक्सन तथा शब्द/रचना केवल तामाङले गरेका छन् । ताराप्रकाश लिम्बूको स्वरमा गीत रेकर्ड भएको छ भने नायक संकोच श्रेष्ठ र नायिका ‘मिसटिन’ मोरङकी लिजा धिमालले भूमिका निर्वाह गरेको भिडियो प्रमिस ईन्टरटेन्मेन्टले युट्युबमा सार्वजनिक गरेको छ । हाल नवनायक श्रेष्ठ नृत्य प्रशिक्षण र कोरियोग्राफरको कार्यमा व्यस्त छन् ।

देउमाइ नगरपालिका-१, राँकेमा २०७० सालमा स्थापना भएको मन्जरी कला केन्द्रले स्थानीय स्तरमा लुकेका प्रतिभालाई उचाईमा पुर्‍याउन ‘राइजिङ्ग स्टार’ नृत्य र गायन प्रतियोगिताको आयोजना लगायत धेरै साँगीतिक कार्यक्रम संचालन गरिसकेको छ ।

प्रतियोगिताबाट राम्रा कलाकारहरु उत्पादन गर्दै एक दर्जन भन्दा बढी गीतसंगीतका भिडियोहरु निर्माण गरेको केन्द्रका अध्यक्ष तथा नेपाल चलचित्र संघका सदस्य केवल तामाङले जानकारी दिए ।

प्रदेश १ लाई पर्यटकीय चलचित्र कार्यकक्ष (नेचरल फिल्म स्टुडियो) को रूपमा विकसित गराउने उद्देश्य र कार्यनीति सहित स्थानीय पर्यटकिय स्थलको प्रबर्द्धन गर्न यस कला केन्द्रले नेपाली चलचित्र ‘नाइ नभन्नु ल’, हालै मात्रै छायांकन भएको ‘प्रेमदिवस’ र ‘क्यापटेन’ जस्ता बिग बजेटमा तयार हुँदै गरेका सिनेमाहरुको छायांकन गर्न सहकार्य गरेको उनले बताए ।

राष्ट्रिय स्तरका कलाकार राजेश हमाल, भुवन केसी, रेखा थापा, अन्जु पन्त, राजेश पायल राई, ताराप्रकाश लिम्बू, स्वतिका प्रधान, नवीन सुवेदी, ज्योति मगर, अनमोल केशी, आयुष्मान देशराज, प्रियाङका कार्की लगायतका नेपालका चर्चित कलाकारहरुलाई कार्यक्रमहरुमा निम्त्याएर दर्शकलाई मनोरञ्जन दिलाएको उनले बताए ।

चलचित्रको माध्यमबाट प्राकृतिक स्थान र विशुद्ध अर्गानिक चिजहरुको उजागर गर्दै लाने हो भने यस क्षेत्रको लोकप्रियता बढ्ने र आन्तरिक तथा वाह्य पर्यटकको आगमन हुने प्रशस्त संभावना छ । यस्ता कार्यमा सबैले हातेमालो गर्न आवश्यक रहेको केन्द्रका अध्यक्ष तामाङले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार