इटहरीमा भीषण आगोलागी, एक करोडको क्षति

इटहरी : सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्यचोकमा रहेको सप्तकोसी कलर ल्याब रहेको चारतले पक्की भवनमा बुधबार दिउँसो आगोलागी हुँदा कम्तीमा रु एक करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगोलागी सुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जानकारी दिएको छ ।

आगोलागीमा परेर विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्णरूपमा ध्वस्त भएको छ ।

आगोलागीका कारण त्यो भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्णरूपमा जलेर नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरीको मुख्यचोक क्षेत्रको बजारमा भएको उक्त आगोलागी अन्य घर क्षेत्रमा फैलन नदिनका लागि झन्डै एक दर्जन बढी दमकलले पूर्णप्रयास गरेका कारण ठूलो नोक्सानी हुनबाट इटहरीको बजार जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बीच सहरमा भएको आगोलागीलाई नियन्त्रणमा लिनका लागि इटहरी, धरान, विराटनगर, इनरुवा तथा यस आसपासमा भएका बारुणयन्त्र, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीसमेतको सक्रिय सहभागिताकै कारणले आगो अपराह्न ३ बजेतिर नियन्त्रणमा लिने कार्य सफल भएको थियो ।

घना सहरको बीचमा भएको घरमा आगोलागी भएका आसपासका अन्य जोडिएका घरमासमेत नोक्सानी पुगेको स्थानीयवासीले जानकारी दिँदै अहिल्यै क्षतिको यकिन विवरण भन्न नसकिने अवस्था नरहेको बताइएको छ ।

चारतला माथिबाट आगो प्रारम्भ भएकाले के कारणले आगो सल्किएको वा फैलिएको हो भन्ने यकिन हुन नसकेको र प्रहरीले विद्युत् सर्टकै कारणले आगो लागेको प्रारम्भिक अनुमान गरेको जानकारी दिएको छ ।

आगोलागीमा धेरै नोक्सानी भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

आगो नियन्त्रणमा पूर्णसावधानी अपनाइएकाले सहरमा आगो फैलनबाट जोगिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार