भिलिमिली बत्तीमात्रै ६० करोड रुपैयाँभन्दा बढीको आयात

  नयाँ बुलन्द  57 पटक हेरिएको

काठमाडौं : यो वर्ष भिलिमिली बत्तीमात्रै ६० करोड रुपैयाँभन्दा बढीको आयात भएको छ ।

दीपावलीमा नेपालीका घर–आँगन झिलिमिली पार्न ६० करोड रुपैयाँभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ ।

नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमामात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अरु समयको तुलनामा यसबेला नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ ।

तिहारको बेला विशेषगरी डिस्को बल्ब, बत्ती बल्ने फोटोफ्रेम, मूर्ति, विद्युतीय मैनबत्ती, रंगीन ट्युबलाइटलगायतका दीपावली सामग्री नेपाल भित्रिने गर्दछन् । दसैंअघिदेखि नै ती सामग्री नेपाल भित्रने गर्दछन् ।

तिहारमा प्रयोग हुने यस्ता विद्युतीय वस्तु ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट भित्रने गरेको नेपाल विद्युत् व्यवसायी महासंघले जनाएको छ ।

व्यवसायीले बत्ती भित्र्याउन तीन महिनाअघिदेखि प्रक्रिया अघि बढाउने गर्दछन् ।

पहिले–पहिले झाल्लरमा सामान्य बल्ब प्रयोग हुने भएपनि हिजोआज लिडको बल्ब प्रयोग हुन थालेपछि यस्ता सामग्री बढी आयात हुने गरेको महासंघले जनाएको छ ।

बजारमा १०० रुपैयाँदेखि दुई हजार हाराहारीसम्मका झाल्लर बिक्री भइरहेका छन् ।

घर, कार्यालय र सार्वजनिक ठाउँमा दीपावलीको समयमा उज्यालो राख्नुपर्ने मान्यताका कारण सबै ठाँउहरुमा झिलिमिली बनाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार