कांग्रेस बैठक आज, महासमिति बैठकको नयाँ मिति तोक्ने सम्भावना

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

पार्टी कार्यालय सानेपामा अपराह्न १ बजेपछि बस्ने बैठकमा महासमितिको बैठक सार्नेबारे छलफल हुने भएको छ । आगामी मंसिर ५ देखि ९ गतेसम्म हुने भनिएको महासमितिको बैठक सार्नेबारे नेताहरुबीच अनौपचारिक छलफल भइरहेको छ ।

आज बस्ने केन्द्रीय समिति बैठकमा पार्टी विधान मस्यौदा समितिले विधान पेश गर्ने कार्यसूची छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विधानको मस्यौदालाई केन्द्रीय समितिमा पेश गरिने र अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई पाँच दिन समय दिइने बताए ।

विधानमाथिकै छलफलका लागि केन्द्रीय समितिमा कम्तीमा सात दिन लाग्ने अनुमान गरिएको भन्दै प्रवक्ता शर्माले मंसिरभित्रै महासमिति बैठक हुने गरी बैठकबाट नयाँ मिति तय हुने सम्भावना रहेको बताए ।

महासमिति तयारीस्वरुप गठन भएको विभिन्न प्रस्ताव तयार गर्न बनाइएको समितिले पनि आफ्नो प्रतिवेदन तयार पारेको छैन । कांग्रेसले राजनीतिक प्रस्ताव तयारीका लागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा सांगठनिक, सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा आर्थिक प्रस्ताव समिति बनाएको छ ।

कांग्रेसभित्र विधानकै विषयमा शीर्ष तहमा मतैक्य हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार