तीन विद्यार्थी पुरस्कृत

  नयाँ बुलन्द  58 पटक हेरिएको

इलाम : इलामको आमचोकमा स्थापित नैन–चित्रा पाण्डे स्मृति अक्षयकोषबाट गतवर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने तीन जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

सिंहदेवी मावि आमचोकमा सञ्चालन गरिएको कार्यक्रममा ३ दशमलव २५ जिपिए ल्याउने फाकफोकथुम गापा–१ स्थित छायाँदेवी माविकी भावना थेगिम, ३ जिपिए ल्याउने सरोज बस्नेत र नवराज कार्कीलाई पुरस्कृत गरिएको हो । थेगिमलाई १८ हजार २१० तथा बस्नेत र कार्कीलाई नौ हजार १०५ का दरले नगद पुरस्कार र प्रशंसा पत्रले पुरस्कृत गरिएको हो ।

पाँच लाख राशीको नैना–चित्रा पाण्डे स्मृति अक्षयकोषको व्याजबाट हरेक वर्ष एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक÷एक जना छात्रछात्रालाई पुरस्कृत गरिंदै आएको छ । यसवर्ष दुई जनाले बराबरी अंक ल्याएकाले पुरस्कृत गरिएको अक्षयकोषले जनाएको छ ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले पछिल्लो समय सामुदायिक विद्यालयको स्तर खस्कँदै गईरहेको अवस्थामा नैनाचित्रा पाण्डे स्मृति अक्षयकोषले विद्यार्थीहरुलाई पुरस्कृत गरेर थप हौसला प्रदान गरेको विचार व्यक्त गरे । उनले आगामी वर्ष गाउँपालिकाका माध्यमिक, उच्च मावि तथा क्याम्पसमा ई हाजिरी तथा फ्रि वाईफाईको व्यवस्था गरिने बताए ।

स्वर्गीय नैनसिंह पाण्डे बुबा र चित्रकला पाण्डे आमको नामबाट उहाँका छोराहरु स्व. डम्वरसिंह पाण्डे, टेकबहादुर पाण्डे, श्यामसिंह पाण्डे र तीर्थराज पाण्डेले २०७२ सालमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक प्रदिप पौडेल, छायाँदेवी माविका प्रअ रघुवीर खडका, शिक्षक अर्जुन पौडेललगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार