फुटबल साइनो

  विप्लव भट्टराई  315 पटक हेरिएको

इलाम : मानेभञ्ज्याङ गोल्डकप फुटबलको पछिल्लो सिजनको फाइनलमा दुलहीझैं सजिएको बजार र नजिकैको चिटिक्क पारिएको मैदान खचाखच थियो  ।

दार्जिलिङका राजनीतिक व्यक्तित्व र प्रशासकसँगै इलामको सूर्योदय गरपालिकाका मेयर रनबहादुर राईसहित पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीलगायतको जम्बो नेपाली टोली पनि आतिथ्यता ग्रहणमै व्यस्त थियो ।

अग्ला पहाडबीचको बजारमा करिब ५ सयजति घरधुरी होलान् । सीमा वारिपारि उस्तै–उस्तै घरसंख्या । सीमा छुटयाउने पिल्लरबाहेक दुईदेशीय सिमाना हो भन्ने छुट्याउने अरु आधार भेट्न समय खर्चनै पर्छ । दुवैतर्फको रहनसहन र दैनिकी ठयाक्कै उस्तै । व्यापारिक र पर्यटकीय बजार भएकाले व्यवसाय पनि धेरै मिल्दोजुल्दो छ ।\

सीमापारि चिटिक्क परेको मैदानमा हरेक वर्ष आयोजना हुने मानेभञ्ज्याङ गोल्डकप खेलाडीका लागि मात्र मिडप्वाइन्ट बनेको छैन । दुई देशका उत्कृष्ट खेलाडीसँगै रेफ्री टोलीको सम्मेलन त छँदै छ हरेक पेसा व्यवसाय गर्नेदेखि राजनीतिकर्मी, प्रशासक, विद्यार्थी र कृषकसम्म दुवैतिरबाट भेलिन्छन् ।

भारतीय भूमिमा प्रतियोगिता सञ्चालन भए पनि उत्साह दुवैतर्फ कम हुँदैन । सदियौंदेखिको यहाँका बासिन्दाको एकता र सद्भावमा फुटबलले गतिलै योगदान गरेको छ ।

को भारतीय, को नेपाली कुनै भेदभाव छैन यहाँको प्रतियोगितामा । सहभागी टिम, निर्णायक टोली र दर्शकसम्म पनि दुईदेशीय सीमाको परिधि नाघेर रौसिन्छन् । यतिसम्मकी सीमावर्ती भारतीय सडकमा अरु बेला नेपाली नम्बर प्लेटका सवारी साधन लैजान दूतावासको अनुमतिपत्र अनिवार्य हुन्छ । तर गोल्डकप अवधिमा भारतीय सुरक्षाकर्मीले पनि उति कडाइ गर्दैनन् ।

मानेभञ्ज्याङ रंगशाला

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गी हरेक असोजमा दार्जिलिङ सीमावर्ती मानेभञ्ज्याङमा आयोजना हुने गोल्डकपमा पुग्छन् । साथीभाइसँगै उनी त्यहाँ पुग्नमा फुटबलले जुराएको पारिवारिक साइनो पनि हो । दशकअघिका चल्तापूर्जा खेलाडी खड्गीले यहींको मैदानमा खेल्नेक्रममा सुखिया नजिकैको पोख्रोवुङबाट लगनगाँठो कसेका थिए । ‘सीमावर्ती क्षेत्रमा हुने यो ठूलो प्रतियोगिता हो,’ खड्गी भन्छन्, ‘भाषा, संस्कृति र रहनसहन उस्तै भएको अवस्थामा दुई देशका बासिन्दालाई जोड्न यहाँको फुटबल सेतुका रूपमा रहेको छ ।’

देश फरक भएकाले दुवैतर्फ राजनीतिक रूपमा समस्या फरक छन् । तर आन्दोलनका प्रकृति उस्तै हुन्छन् । यता गाडी चल्दा उता नचल्ने अनि उता चल्दा यता नचल्ने । समस्या दुवैतर्फ छ । उता बन्द हुँदा यता चामललगायत उपभोग्य सामग्रीको अभाव, यता बन्द हुँदा सागसब्जी, घिउ छुर्पीलगायतको अभाव । तर फुटबल प्रतियोगितामा यी विषयले कहिल्यै छुँदैन ।

सीमावारि नेपालको भू–भाग सूर्योदय नगरपालिका १ गोर्खेमा पर्छ । उता दार्जिलिङको क्षेत्र । तर फुटबल आयोजनाका लागि निकालिएका ब्रोसर, सूचना, टाइसिटलगायतमा कुनै देशको ठेगाना राखिएको छैन । आयोजक संस्थामा मानेभञ्ज्याङ फुटबल कमिटीमात्र उल्लेख हुन्छ । ‘यहाँको फुटबल उत्साह आजको मात्र हैन,’ नेपालतर्फ घर भएका शेरबहादुर गुरुङले भने, ‘सदियौंदेखि सीमा वारिपारीका बासिन्दाको सम्बन्ध प्रगाढ बनाउन फुटबलले काम गरेको छ ।’ यहाँ सहभागी हुने टिममध्ये आधा नेपालका हुन्छन् ।

निर्णायकका लागि आलोपालो सिस्टम जस्तै छ । त्यसमा पनि नेपाली निर्णायक टोलीले धेरै अवसर पाउँछन् । यसअघि सिलिगुढीवाट निर्णायक टोली ल्याइएकोमा यो वर्ष झापाबाट ल्याइएको थियो । ‘यो प्रतियोगितामा आउने धेरैको लक्ष्य हुन्छ,’ रेफ्री प्रकाश काफ्लेले भने, ‘गोल्डकपको रौनक र आपसी सद्भावले नै यहाँ आउन जाँगर बढ्ने गर्छ ।’


यहाँ प्रतिस्पर्धा जनाउन धरान, झापा, इलाम, फिक्कल, पशुपतिनगरलगायत ठाउँका टिमको बर्सेनि जस्तै उपस्थिति हुन्छ । दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायत भारतीयसहित भुटानका टिमको सहभागिता पनि नियमित जस्तै हो । विजेताले दुई लाख भारतीय रुपैयाँ पाउने प्रतिस्पर्धाका लागि दार्जिलिङ, सिलगुढीलगायत भारतका विभिन्न ठाउँ र नेपालका प्रायोजकले पनि सघाएका हुन्छन् ।

दर्शकको उपस्थिति पनि यहाँ उत्तिकै समानुपातिक देखिन्छ । दार्जिलिङसहित सुखिया, बाँसबोटे, बिजनवारी, लरिङ, सोमबारेतर्फबाट जस्तै गरी इलाम, फिक्कल, पशुपतिनगर, जोगमाई, जमुना, गोर्खे, मेहेलबोटेलगायत क्षेत्रबाट घण्टौं धाएर दिनहुँ दर्शकको ओइरिन्छन् । यहाँको प्रतियोगितामा नेपालका स्टार खेलाडीदेखि भारतका पनि राम्रा खेलाडीको उपस्थितिले स्थानीयलाई हौस्याउने गर्छ ।

यहाँ विकासित सम्बन्धका कारण नेपाल र भारतका विभिन्न स्थानमा हुने प्रतियोगितामा दुवैतर्फका खेलाडीको उपस्थिति अनिवार्य हुने गरेको छ । यहींको प्रतियोगितामा खेलकौशल अब्बल भएका खेलाडीले नेपालको ए डिभिजनसम्मको खेल खेलेका छन् ।

त्यस्तै नेपालका कतिपय खेलाडीले पनि भारतीय क्षेत्रमा खेल्ने अवसर पाएका छन् । दार्जिलिङका पत्रिका र टेलिभिजनसँगै प्रतियोगिता सम्बन्धी सूचना, समाचार र प्रत्यक्ष प्रसारणसम्मका लागि इलामका मिडिया रोजिन्छ । ‘यो प्रतियोगितालाई स्थापित गर्न नेपालतर्फबाट हुने सहयोग अतुलनीय छ,’ आयोजक समितिका अध्यक्ष टासी लामा भन्छन्, ‘यस्तो नहुँदो हो त प्रतियोगिता सञ्चालन गर्नै कठिन हुन्छ ।’

फुटबलकै बहानामा सम्बन्ध गाँसेर विवाहबारी गर्ने पनि उत्तिकै भेटिन्छन् । त्यसमध्ये एक हुन् एन्फा केन्द्रीय सदस्य खड्गी । दार्जिलिङका विभिन्न क्षेत्रमा फुटबल खेल्दाखेल्दै पोख्रेबुङकी सुरेखा थापासँग मायाप्रीति गाँसिएर जीवनसंगिनी बनाएको उनी सुनाउँछन् । ‘सीमा वारिपारीबीचको फुटबलले खेलप्रतिभा निखार्नेसँगै आपसी सम्बन्ध र सद्भाव विस्तारमा पनि उत्तिकै सघाएको छ,’ उनी भन्छन्।

श्रोत : कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार