पुलले माझी समुदायको नाउ चलाउने पुरख्यौली पेशा हरायो

  नयाँ बुलन्द  173 पटक हेरिएको

पाँचथर : पुल निर्माणले पनि आदिवासी माझी समुदायको जीविकोपार्जनसँग जोडिएको नाउ चलाउने पुरख्यौली पेशा हराएको पाइएको छ । पाँचथर र तेह्रथुमको सीमा हुँदै बग्ने तमोर नदिको ठाउँ ठाउँमा बनाइएका झोलुङ्गे पुलहरुसँगै मोटरेबल पक्की पुलका कारण माझी समुदायको नाउँ चलाउने पुरख्यौली पेशा हराएको हो ।

डेढ दशक अघिसम्म तमोरमै मिसिने सहायक नदी कावेली नदी क्षेत्रदेखि सुनसरीको चतरासम्म तमोर नदी किनारका घाटहरु नै पिच्छे नाउ देखिन्थ्यो । तर आजभोली नदी किनारका घाटहरुमा नाउ कतै पनि छैन ।

पाँचथरको माझीटारकी ममता माझीले २०५८ सालमा माझीटारमै झोलुङ्गे पुल बनेपछि नाउको प्रयोग नआएको बताएकी छन् । उनले पुलदेखी नै मानिसहरु आवातजावत गर्न थालेपछि शेयरमा रहेको नाउ बाध्यताले नदीमा खियाउन छाडिएको बताइन् । ‘पुल बनेपछि नाउँ छैन । मानिसहरु नाउँमा भन्दा पनि पुलदेखि नदी वारी पारी गर्न थाले’ उनले भनिन् ‘फेरी नदी तार्दा ५ रुपैयाँ मात्रै शुल्क थियो, नपोसाउने भएकोले नाउ चलाउनै छाडियो ।’

नाउ खियाएर मानिसहरुलाई नदी वारी र पारी पु¥याउँदै सेवा वापत शुल्क उठाउँदै आएका माझी समुदायको जीविकोपार्जनको आधार नै नाउ हो । पुल बनेपछि भने नाउ प्रयोगविहिन हुँदा माझी समुदायको रोजीरोटी त गुम्यो नै कसरी बाँच्ने भन्ने चिन्ता पनि थपिएको छ ।

माझी अगुवा जसबहादुर माझीले माझीटारमा पुल बन्नु पहिले दैनिक अढाई सय जनासम्म मानिसहरु तारिने गरेको बताए । ‘एक÷दुई हजार रुपैयाँ हुन्थ्यो दिनहुँ, माछा पनि मारिन्थ्यो अनि अलि अलि साहूकोमा खेती गरिन्थ्यो’ उनले भने, ‘पुलले गर्दा नै नाउको काम नआएपछि कसैले खोलामा बगाए, कसैले चिरेर दाउरा बाले ।’

सुनसरीको चतरा, धनकुटाको मुलघाट, याक्चानाघाट, साप्टिङ घाट, भैँसे, सदाम, हाक्पारा घाट,पाँचथरको लखुवा दोभान, लुबुघाट, माझीटार, नक्कलेघाट, पिनासीघाटलगायतका तमोर नदी किनारका घाटहरुमा नाउ नै नाउ थियो । तर अब माझीको नाउ थियो अरे भन्ने अवस्थामा पुगेको छ ।

प्रत्येक सालको वैशाखमा पर्ने माझी समुदायको खोलाकोशी पर्वमा नाउ चाहिने भएकोले हाल गुडिया जस्तै सानो नमूना नाउँ चाँही माझी बस्तीमा छ । ‘सांस्कृतिक रुपमा पनि माझीलाई नाउँ चाहिन्छ’ जसबहादुरले थपे, ‘खोला किनारमा नाउ राखेर बोका र भालेको भोग दिइन्थ्यो, अहिले त गुडियो जस्तो नाउँ छ, खोलाकोशी पुजामा निकाल्छौ र पुजा गर्छौँ ।’

जोखिमपूर्ण ढंगले नदी वारीपारी गर्नुपर्ने बाध्यता भने झोलुङ्गे पुल बनेपछि टरेको छ । अझ माझिटारमै बनाएको मोटरेबल पुलले भने सवारी आवातजावतमा पनि सहजता निम्तिएको छ । दैनिक दुई दर्जन बढि यात्रुवाहक जीप, मालवहाक ट्रक, ट्याक्टर लगायतका सवारी साधनहरु तमोर नदीमा निर्माण गरिएको मोटरेबल पुल हुँदै आवातजावत गर्ने गरेको छ ।

माझी संघका केन्द्रिय सदस्य राम माझी राज्यको निकायहरुमा माझी समुदायलाई विकासको संरचना पुलले पु¥याएको असरबारे पटक पटक भनिएपनि सुनुवाई नभएको गुनासो गर्छन् । ‘जिल्ला प्रशासन कार्यालय गएर पनि हामीले भन्यौँ कि पुल विकासको पूर्वाधार बन्दा राम्रो भएपनि हाम्रो चाँही पुरख्यौली पेशा सदाको लागि अन्त्य भयो’ उनले भने, ‘रोजगारीको भएपनि व्यवस्था गर्न भन्यौँ तर सोझा माझीहरुलाई वास्तै गरेनन् ।’

आदिवासी जनजाति सम्बन्धिको अन्तराष्ट्रिय घोषणापत्र (युएनड्रिप) र अन्तराष्ट्रिय श्रम संगठन १६९ लाई नेपाल सरकारले अनुमोदन गरेको छ । यस अनुसार आदिवासी जनजातिको इलाकामा विकास निर्माणको संरचना बनाउँदा ती समुदायको स्वतन्त्र, अग्रिम,सुसूचित मञ्जुरीनामा लिइनुपर्ने हुन्छ । तर नदी किनारमा रहेको माझी वस्ती छेउमा पुल बनाउन लाग्दा त्यसो नगरिएको माझी अगुवा बताउँछन् । ‘पुल बन्नु विल्कुल राम्रो हो, हामीले विरोध गरेका होइनौँ’ राम माझी भन्छन्, ‘तर पुलले हाम्रो आर्थिक, सांस्कृतिक जीवनमा पार्ने सम्भावित असरबारे प्रष्टसँगले थाहा दिइनुपथ्र्यो, त्यसो गरिएन ।’

पाँचथरको फिदिम नगरपालिकाले भने माझी समुदायको पुरख्यौली पेशालाई निरन्तरता दिने गरी नाउँ जुटाई दिने जनाएको छ । नगर प्रमुख ओनाहाङ नेम्बाङले चालू आर्थिक वर्षमै नगरपालिकाले आर्थिक सहयोग गरी नाउको व्यवस्थापन गर्ने दृढता व्यक्त गरे । ‘पुरख्यौली पेशालार्ई निरन्तरता दिनको निम्ती एउटा नाउँलाई के कति पर्छ, तत्कालै व्यवस्था गरि सोच बनाएको छ’ उनले भने, ‘नाउले माझी समुदायको आर्थिक, सांस्कृतिक जीवनमा पनि योगदान दिने ठानेका छौँ ।’

आदिवासी माझी समुदायको लागि नदी नै सबथोक हो । नाउँ नदीमा खियाउँदै अर्थोपार्जन गर्नेसँगै माछा पनि मारी जीविकोपार्जन गर्ने जाति हुनाले विकासे संरचना पुल बनाइदा ती समुदायको पेशा बचाउनेतिर पनि सोच्नु आवश्यक रहेको माझी अगुवाहरुको भनाई छ । पाँचथरमा मात्रै राष्ट्रिय जनगणना २०६८ अनुसार ६ सय ३५ जना माझी समुदायको बसोबास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार