नेपालमै पहिलो पटक लिम्बू भाषा सरकारी कामकाजमा

  नयाँ बुलन्द  2477 पटक हेरिएको

माङसेबुङ : नेपालमा पहिलो पटक लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग हुने भएको छ । पश्‍चिमी इलामको माङसेबुङ गाउँपालिकामा स्थानीय लिम्बू भाषा सरकारी कामकाजको रुपमा प्रयोग हुने भएको छ ।

माङसेबुङ गाउँपालिकाको ५ नम्बर वडा कार्यालयको कामकाजी भाषाको रुपमा लिम्बू भाषालाई समेत प्रयोग गर्ने निर्णय भएको हो । विहीबार वडा समितिको आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी र संघसंस्थाहरुको संयुक्त बैठकले सो निर्णय गरको हो । लिम्बू समुदायको बाहुल्यता रहेको त्यस वडामा स्थानीय भाषाको सम्मान गर्दै लिम्बू भाषालाई समेत सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको वडा अध्यक्ष नरेन्द्र राईले बताए । विभिन्न अप्ठ्यारा परिस्थिति रहेपनि लिम्बू भाषा र किरात सिरजंगा लिपिको आधार क्षेत्र रहेकाले सरकारी कामकाजमा प्रयोग गर्न माङ्सेबुङबटै सुरुवात गरिएको उनले बताए ।

हालसम्म वडा र गाउँपालिकामा बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । तर स्थानीय भाषा कामकाजी भासाको रुपमा प्रयोग हुने भएपछि गाउँपालिकाले दोभाषे कर्मचारी नियुक्त गर्न बाध्य भएको वडा सचिव युवराज दाहालले बताए ।

६ वडा वडा रहेको माङसेबुङ गाउँपालिकाका अन्य वडाले भने सरकारी कामकाजी भाषाको रुपमा कुनैपनि स्थानीय भाषालाई प्रयोग गर्ने निर्णय गरेका छैनन् । उसो त गाउँपालिकाले पनि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको छैन । गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत स्थानीय भाषाको बारेमा केही समावेश गरेको छैन ।

यता माङसबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले तत्काल स्थानीय भाषालाई सरकारी कामकाजी भाषामा प्रयोग गर्ने गाउँपालिकाको कुनै योजना समेत नरहेको बताए । संविधानले स्थानीय भाषालाई समेत सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएको भएपनि आवश्यक जनशक्तिको अभावमा कार्यान्वयन नगरिएको इधिङगोले बताए ।

‘हामीसँग पर्याप्त जनशक्ति छैन । भाषा अनुवादकको समेत आवश्यकता पर्छ । यी सब व्यवस्थापन गर्न  आवश्यक जनशक्ति नभएकाले  तत्काल स्थानीय भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गर्ने निर्णय नगरिएको हो’ अध्यक्ष इधिङगोले भने,  ‘स्थानीय सरकार भर्खर जन्मेर बामे सर्दै गरेको छ । यस बारेमा पछि योजना बनाउनेछौं ।’

यसअघि माङसेबुङ गाउँपालिकाले गाउँपालिका भरीका सबै सरकारी कार्यालय तथा विद्यालयको साइन बोर्ड देवनागरी र किरात सिरिजंगा लिपिमा उल्लेख गर्ने निर्णय भने गरिसकेको छ । गत वर्षको गाउँसभाले दुवै भाषा र लिपिमा बोर्ड उल्लेख गर्ने निर्णय भएको अध्यक्ष इधिङ्गोले बताए ।

लिम्बू भाषालाई सरकारी कमकाजी भाषाको रुपमा प्रयोग गर्दा आउने समस्याहरुमा सहजीकरण गर्न ५ सदस्यीय समिती समेत निर्मण भएको छ । सो समितिले गाउँपालिकाबाट दोभासे कर्मचारी नियुक्त नभएसम्म स्वयम्सेवक्को भूमिका निर्वाह गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार