बच्चालाई कुन समयसम्म कतिपटक खोप लगाउनुपर्छ ?

काठमाडौं : बालबालिकालाई विभिन्न रोगबाट बचाउन जन्मेको ४५ दिनदेखि १५ महिनासम्म ११ प्रकारका रोगविरुद्धका खोप दिनुपर्छ ।

तर, आफ्नो बच्चालाई कुन समयसम्म कतिपटक खोप लगाउनुपर्छ ? भन्ने जानकारी भने सबै अभिभावकलाई हुन आवश्यक छ ।

सरकारले २०४५ सालदेखि ११ ओटा रोगविरुद्धका खोप निःशुल्क दिँदै आएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअनुसार बच्चा जन्मेको ४५ दिनभित्र क्षयरोगविरुद्धको खोप लगाउनुपर्छ । यो खोपले मेनेन्जाइटिस, क्षयरोगलगायतका रोगबाट बचाउँछ ।

६ हप्तामा पोलियो, भ्यागुते रोग र हेपाटाइटिस रोगविरुद्धको खोप लगाउनुपर्ने हुन्छ ।

१० हप्तामा रोटा भाइरस, भ्यागुते रोग, १४ हप्तामा पोलियो रोगविरुद्ध खोप लगाउनुपर्छ ।

यस्तै, ९ महिनामा निमोनिया, १२ महिनामा जापानिज इन्सेफलाइटिस र १५ महिनामा दादुरा, रुवेला रोगविरुद्धको खोप लगाउनुपर्ने कार्यतालिका निर्धारण गरिएको छ ।

सरकारले वार्षिकरुपमा एकजना बालक/बालिकाका निम्ति करिब पाँच हजार ३०० रुपैयाँ खोपमा खर्च गर्ने गरेको छ ।

देशभरिका १६ हजारभन्दा बढी खोप केन्द्रबाट निःशुल्करुपमा खोप दिने गरिएकोे छ ।

नेपालमा खोप दिन थालेयता २०६७ सालदेखि कुनैपनि पोलियोका बिरामी नभेटिएको र जापनिज इन्सेफलाइटिस, धनुस्टंकार, टिटानस रोग निवारणको चरणमा रहेको सरकारी भनाइ छ ।

सरकारले वार्षिक ६ लाखभन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । तर, यो लक्ष्यप्राप्तिमा खोप समयमा नपुग्नु, उत्पादनदेखि प्रयोग नगरेसम्म निश्चित तापक्रममा खोप राख्न नसक्नु, दुर्गम क्षेत्रहरुका खोप केन्द्रको पहुँचमा बालबालिका पुग्न नसक्नु, तालिमप्राप्त स्वास्थ्यकर्मीहरुको अभावलगायतका समस्या छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार समयमा खोप लगाउने हो भने बालबालिकालाई विभिन्न रोगबाट बचाउन सकिन्छ ।

त्यसका लागि सरकारको खोप अभियान प्रभावकारी हुनुका साथै अभिभावकको सचेतना र जागरण पनि उत्तिकै आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार