बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत

काठमाडौं : नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

समितिले शुभबेलाको साइत दिएको जनाइएको छ ।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवत्र्तक धनवन्तरि जयन्ती र यसैदिन भान्ड त्रयोदशी पर्व पनि मनाइन्छ ।

कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । काग र कुकुरलाई यमदूतकारुपमा मानिने गरिएको छ ।

कात्तिक २१ गते कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसदिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ ।

कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् ।

कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यसदिन वर्षभर हलो जोत्ने हलिकोसमेत पूजा गर्ने संस्कृति छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको अध्यक्ष गौतमले बताए ।

तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख–शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार