घर छन् तर मानिस छैनन्

पाँचथर : जिन्दगीमा पैसा कमाएर कम्तीमा घरसम्म भएपनि बनाउने अधिकाँशको सपना हुन्छ । र सुरक्षित वासस्थानका लागि घर बनाइन्छ, पनि । यसरी बनाइएको घरसँग मानिसको भावनात्मक सम्वन्ध पनि रहन्छ ।

तर बसाई गरी गएपछि जिन्दगीमा सपना बनेको एउटा घरको अवस्था चाँही कस्तो होला ? अथवा मानिसविनाको घरको सौन्दर्यता कस्तो देखिएला ? पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिकामा यस्ता घरहरु ५ सय ४५ वटा छन् ।

पानीको चर्को समस्या र सुविधाको खोजीले बसाई सरेर सहर पस्ने कारणले गाउँका घरहरु मानिसविहिन बन्न पुगेका हुन् । गाउँमा मानिसविनाका घरहरु बढि हुँदै गएपछि गाउँ विरानो लाग्न थालेको तुम्बेवा–१, डिहिगाउँका रमेश कार्की बताउँछन् । ‘कहिलेकाँही घुम्दै जाँदा मानिसविनाका घरहरु भुत बंगाला जस्तै लाग्छ,डरमर्दो भो ।’ उनले भने, ‘हामी पनि बसाई सर्ने तयारी गर्दै छौँ,पछि पछि त गाउँ नै सुनसान होला जस्तो छ ।’

तुम्बेवा गाउँपालिकाको वडा नम्वर १,साविक आङनामा सर्वाधिक बसाईसराई हुने गाउँ नै डिहिगाउँ र ढुकुरे हो । यी गाउँहरुपछि माथिल्लो रातमाटे,थेपाङ लुमाङदिङ,चनौटे,आम्बोटे,आहाले,तल्लो रातमाटेसँगै मालबासे गाउँपनि बसाईसराई उच्च हुने गाउँ हुन् ।

वडाध्यक्ष मोतिराज तामाङका अनुसार वडा क्षेत्रमा १ सय ६० वटा घर मानिसविनाका छन् । खडेरीले मूख्य खाद्य वालिको उत्पादन लगातार शुन्य हुनु,गाउँघरमा कुँवा र पँधेरो सुक्नु र विदेश गएका युवाहरु नानीहरुलाई शिक्षाको लागि भन्दै सहरमा बसाई सरेर जानुले वर्षेनी गाउँका घरहरु रित्तिने गरेको उनी बताउँछन् ।

यसरी नै बसाईसराई दर उच्च भएर जाने हो भने वडा क्षेत्रका गाउँहरु केही दशकमै रित्ता हुने कि भन्ने चिन्ता उनलाई छ । ‘विदेशदेखि आएका युवाहरु गाउँमा कमै अडिन्छन्,अधिकाँश सहरमै घडेरी किनेर परिवारै लिएर बसाई जान्छन् ।’ उनले भने, ‘यस्तो अवस्थामा गाउँको हालत हुन्छ ।’

गत वर्ष तुम्बेवा –१ रातमाटेका चन्द्रवहादुर तामाङ बसाईसरेर मोरङ पुगे । वर्षौँदेखि पसिना बगाएर बिराएका पाखाबारीसँगै मलिलो बनाएका जग्गा जमिन र घर त्यागेर बसाई सरेर गएका उनलाई घर छोड्दा पर्नु पिर प¥यो । माथिल्लो रातमाटेका राम तामाङ,पूर्ण तामाङ,मणिराज भण्डारी र पुण्टे दमाईले बसाई सरेर गएका छन् । उनीहरुमध्ये केहीको घर भग्नावशेषमा परिणत भएका छन् भने केहीको घर भत्किने क्रममा छन् ।

बसाई सरेर जाने तयारीमा रहेका तुम्बेवा–१ डिहिगाउँका धर्मलाल कार्कीले बसाईसराई रहर भन्दा पनि बाध्यता नै भएको बताए । ‘जन्म घर त्यागेर जानु त्यति सजिलो छैन,घरिघरी सम्झिन्छु,कसरी छोडेर जाने होला ?’ उनले भने, ‘आफू बामे सर्दै ताते ताते गरी हुर्केको घरसँग भावनात्मक सम्वन्ध हुँदोरहेछ तर वर्षेनीको खडेरीले घाँस नपलाउँदा बस्तुलाई दिन पनि नपाएकाले सवैथोक त्यागेर जान पर्ने अवस्था आयो ।’

तुम्बेवाकै वडा नम्वर–२ मा पनि १ सय ६० घर खाली रहेको वडाध्यक्ष पूर्ण पिठाकोटेले बताए । उनका अनुसार चुवाडे,सोभारा,हाक्पारा,मेवा लगायतका गाउँहरु वडा नम्वर २ को वढि बसाईसराई हुने गाउँ हुन् ।

यता कुम्मायक गाउँपालिकामा भने मानिसविहिन घर तुम्बेवा गाउँपालिकामा भन्दा अलिक बढि देखिन्छ । गाउँपालिकाले जनाए अनुसार ३ सय ३५ घर मानिस विनाका छन् । जसमध्ये कुम्मायक–१ का १ सय ५० घर रित्ता छन् भने वडा नम्वर २ मा १८ घर रित्ता छन् । वडा नम्वर–३ मा ५५,वडा नम्वर ४ मा ३० र वडा नम्वर ५ मा ८२ घर रित्ता छन् ।

कुम्मायकको बसाईसराई बढि हुने गाउँहरु भने खाल्डे,होक्लुम्बा,ओखलढुंगा,कात्तिके,नर्कटे,भुल्के,ढाँडे,बिजुवापानी लगायत हुन् । बसाई सरेर अधिकाँश झापा,मोरङ र सुनसरी जाने गरेका छन् । यद्यपी जिल्लाको फिदिम नगरपालिका,याङ्वरक गाउँपालिका,फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिकामा भने बसाईसराई हुने क्रममा अत्यधिक कम भएकोले खाली घरहरु पनि निक्कै कम छन् ।

गाउँपालिका क्षेत्रमा मानिसविनाका घरहरु बढ्दै गएपछि तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापा थप चिन्तित छन् । उनले बसाईसराईलाई न्यूनिकरण गर्न तमोर नदिको पानी लिफ्ट प्रणालीमार्फत सिञ्चाईका लागि वडा नम्वर १ को सिम्सेपाखा र वडा नम्वर २ को हाक्पारामा परियोजना सञ्चालन गर्न लागिएको बताए । ‘बसाईसराई नियन्त्रण गर्न लिफ्ट सिञ्चाई प्रणाली थाल्ने भएका छौँ,यसले दीर्घकालिन रुपमा बसाईसराई समस्या समाधान गर्न टेवा पु¥याउँछ ।’ उनले भने, ‘बसाईसराई नै भएन भने त मानिस भएका घरहरु हुने भयो नि ।’

सुख्खाग्रस्त क्षेत्रको बेँशी क्षेत्रमा गाउँपालिकावासीलाई नगदे फल अमला र बेलको खेती गराउनेसँगै तमोरमा ड्याम निर्माण गरी माछा पालन,होटल व्यवसाय गराउने वातवरण तयार गरिने पनि अध्यक्ष थापाले बताए ।

कुम्मायक गाउँपालिका अध्यक्ष जयवहादुर चेम्जोङले भने गुणस्तरिय शिक्षा र खानेपानीको व्यवस्थापनमा केन्द्रित भएर बसाईसराई न्यूनिकरणको अभियान गाउँपालिकाले थालिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार