आज विजया दशमी हर्षोल्लासका साथ मनाईदै

  नयाँ बुलन्द  86 पटक हेरिएको

काठमाडौं : आश्विन शुक्ल दशमीका दिन मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापी मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइन बिहान ९ बजेर ३९ मिनेटमा रहेको जनाएको छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको छ ।

विजया दशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिले जनाएको छ ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा मानी लगाउने गरिन्छ ।

जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

घटनास्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथी दैवी शक्तिको विषयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

दसैं घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबा–हजुरआमा, बा–आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिइन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशिर्वाद थाप्न हिँड्ने चलन छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार