वर्षको एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्र्थीको घुइँचो

काठमाडौं : वर्षको एक दिन वडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्र्थीको घुइँचो  लागेको थियो ।

नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आएका छन् ।

मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन् ।

सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् ।

राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किंवदन्ती रहेको छ ।

वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, वनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार