बडादसैंको आठौं दिन आज महाअष्टमी पर्व: कालरात्रिको पूजा गरिंदै

  नयाँ बुलन्द  109 पटक हेरिएको

काठमाडौं : बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ ।

महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

यस अवसरमा दसैंघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गरिन्छ ।

कलपूर्जा, हातहतियार र सवारी साधन सफासुग्घर गरी बलीसहित पूजा गरिने प्रचलन छ ।

पशुबली नचढाउनेहरूले जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बली दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।

आजको दिन शास्त्रसम्मत रूपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको छ ।

आज काठमाडौं उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलीसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

आजै राती पशुबलीको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ ।

काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाईंका साथै ५४ राँगा र ५४ बोकाको बली दिई कालरात्री पूजा गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार