सिद्धिथुम्का पर्यटन महोत्सवको तयारी सुरु

इलाम : इलामको देउमाई नगरपालिका–७ स्थित सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव आयोजना हुने भएको छ । गोविन्द गुरागाईको अध्यक्षतामा महोत्सव आयोजक समिति गठन गरी तयारी सुरु भएको छ ।

‘आन्तरीक पर्यटन प्रवद्र्धनमा जुटौं’ भन्ने नाराका साथ आगामी २५, २६ र २७ कात्तिकमा महोत्सव आयोजना लागिएको सिद्धिथुम्का आयोजक समितिका अध्यक्ष गुरागाईले जानकारी दिए ।

महोत्सवमा खान्द्रुङ, गुफा अवलोकन, कृषि प्रर्दशनी, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न कार्यक्रम संचालन हुनेछन् । पहिलो दिन साँस्कृतिक झाँकीको साथ कार्यक्रमको उद्घाटन, दोस्रो दिन भव्य साँस्कृतिक कार्यक्रम र तेश्रो दिन समापन समारोहमा सम्मान कार्यक्रमको तय गरिएको गरागाईले जानकारी दिए ।

महोत्सवमा प्रमुख आकर्षणको रुपमा सुर्योदय र सुर्यास्तको रुपमा सिद्धिथुम्का चुली, फुङफुङे झरना, ऐतिहासिक गुफा, मन्दिर, गुम्बा, देवीस्थान, प्राकृतिक, जैविक विविधता साथै जातीय साँस्कृतिक नाँचगान, स्थानीय खानपिनको परिकार रहेका छन् ।

सदरमुकामदेखि पश्चिम भेगमा रहेको सिद्धिथुम्का चुली समुन्द्र सतहदेखि १ हजार ६ सय ९३ मिटरको उचाईमा छ । सिद्धिथुम्का चुलीबाट सुर्योदय र सुर्यास्तको दृश्यको मजा लिन सकिने भिन्न पहिचान छ ।

यो चुली बाहेक अजम्बरे डाँडा, खान्दु्रङ गुफा, स्थानीय व्यवसायिक कृषि प्रणाली, मौरीपालन व्यवसाय, सालको जंगल र बहुसाँस्कृति जनजाति समुदाय लिम्बू, राई, तामाङ, मगर जातिको साँस्कृतिक जिवन शैली आकर्षणको पक्ष रहेको अध्यक्षले बताए ।

जीतपुर र सिद्धिथुम्काको सीमानामा रहेको अजम्बरे डाँडाबाट हरिया चिया बुट्यानको मनोरम वातावरण, कञ्चनजंगा र हिमालय पर्वतको श्रीङ्खला साथै तराईका समथर फाँटहरु र इलामको सम्पुर्ण गाँउवस्ती नियाल्न सकिने वडा नम्बर ९ का सचिव युवराज घोर्साईंले बताए ।

महोत्सवको पूर्व सन्ध्यामा सिद्धिथुम्कामा पर्यटकहरु जाने क्रम बढेको छ । दैनिक सयौंको संख्यामा सदरमुकाम इलामबजार र अन्यत्रबाट आन्तरिक पर्यटकहरु सिद्धिथुम्का पुग्ने गरेका छन् ।

यसअघि ६, ७ र ८ मंसिर २०६५ मा प्रथम सिद्धिथुम्का पर्यटन महोत्सव सम्पन्न भएको थियो । त्यस्तै दोश्रो सिद्धिथुम्का पर्यटन महोत्सव ५, ६ र ७ मंसिर २०६६ मा आयोजना गरिएको थियो । सिद्धिथुम्काको पर्यटकीय विकासलाई अगाडी बढाउनमा महोत्सव प्रभावकारी भएको दावी गरिएको थियो ।

पर्यटकीय क्षेत्र सिद्धिथुम्का

इलामको विभिन्न पर्यटन गन्तव्यमध्ये सदरमुकामदेखि १५ किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का एउटा प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । देउमाई नगरपालिका वडा नम्बर ७ मा अवस्थित सिद्धिथुम्का चुली सूर्योदय र सूर्यस्त दृश्यावलोकनका लागि प्रसिद्ध छ ।

यसबाहेक अजम्बरी डाँडा, खान्द्रुङ गुफा, माइलुप क्षेत्रको दृश्यावलोकन, मौलिक र व्यवसायिक कृषि प्रणाली, मौरीपालन व्यवसाय, सालको जंगल, लिम्बु, राई, तामाङ, मगर आदि जातिहरुका विशिष्ट साँस्कृतिक सम्पदाहरु यस क्षेत्रका अरु आकर्षण हुुन् ।

सिद्धिथुम्काको चुलीबाट इलाम जिल्लाका सबै स्थानीय तह देखिन्छ । यस बाहेक छिमेकी जिल्ला झापा, मोरग, सुनसरी, भारतको दार्जिलिङ, सिलीगुढी आदि क्षेत्रहरुको दृश्यावलोकन समेत गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार