देउमाई नगरपालिकाले दियो राँकेका अग्निपीडितलाई २ लाख ३० हजार

मंगलबारे : इलाम र पाँचथरको सीमानामा पर्ने राँके बजारका अग्निपीडितलाई देउमाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन शीर्षक अन्तरगत राँकेका ४ जना अग्निपीडितलाई नगद दुई लाख ३० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

नगपालिकाले शुक्रबार एक कार्यक्रम गरी अग्निपीडित घरधनी ठालुमान श्रेष्ठलाई नगद ८० हजार, श्रेष्ठको घरमा डेरा गरी पसल संचालन गर्दै आएका व्यवसायीहरु श्रीबहादुर विष्टलाई ७० हजार, तीलबहादुर बस्नेतलाई ७० हजार र नरबहादुर श्रेष्ठलाई १० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

नगरप्रमुख सुर्यप्रसाद पोखेलको नेतृत्वमा उपप्रमुख पविमाया राई, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद दाहाल, ९ वटै वडाका अध्यक्षहरुको उपस्थितीमा नगरप्रमुख पोखरेलले आगलागी पीडितलाई राहत रकम हस्तान्तरण गरेको देउमाई नगरपालिकाका सूचना प्रविधि अधिकृत गोपाल बाँस्तोलाले नयाँ बुलन्द डटकमलाई जानकारी दिए ।

यस्तै उद्योग वाणिज्य संघ देउमाईले पनि अग्निपीडित चारै जनालाई ४१ हजार ३ सय ५० रुपैयाँ राहत रकम उपलब्ध गराएको छ । उद्योग वाणिज्य संघ देउमाईका अध्यक्ष तारा थापाको नेतृत्वमा गएको संघको पदाधिकारीहरुको समूहले ठालुमान श्रेष्ठ, श्रीप्रसाद विष्ट र तीलबहादुर बस्नेतलाई जनही १२ हजारका दरले र नरबहादुर राईलाई ५ हजार ३ सय ५० रुपैयाँ राहत रकम उपलब्ध गराएको हो ।

एक महिना अघि राँके बजारको देउमाई नगरपालिकापट्टिको घर तथा पसलहरुमा आगलागी हुँदा करिब २ करोड १० लाख बराबरको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार