इलामे छुर्पी विदेशी कुकुरको पोषिलो आहार

इलाम : पूर्वी नेपालमा उत्पादित छुर्पी अमेरिकाका कुकुरको पोषिलो आहार भएको छ । इलामबाट मात्र महिनाको करोडौं रुपैयाँको छुर्पी अमेरिका निर्यात हुने गर्दछ । नेपालको हिमाली क्षेत्रमा परम्परागत रुपले उत्पादन हुने छुर्पी अहिले इलाममा व्यवसायिक रुपमा उत्पादन हुन थालेको छ । तर, मानिसले खाने छुर्पी भन्दा कुकुरले खाने छुर्पीको बजार राम्रो रहेको छुर्पी व्यवसायमा संलग्न बताउँछन् ।
इलामको हर्कटे, मंगलवारे, बिब्ल्याँटे र फिक्कलमा संचालित फ्रेस्को इन्डष्ट्रिबाट कुकुरका लागि छुर्पी र मानिसका लागि घिउ उत्पादन हुँदै आएको छ । सन् २०१३ बाट कुकुरका लागि छुर्पी निर्यात गर्दै आएका फ्रेस्को इन्डष्ट्रिका संचालक अर्जुन सिवाकोटीले भने, उद्योगले मासिक १ करोड ३२ लाख भन्दा बढीको छुर्पी विदेशमा निर्यात गर्दै आएको

छुर्पीको बजार
फ्रेस्को इन्डष्ट्रिबाट उत्पादित छुर्पी अमेरिका, क्यानेडा, सिंगापुर, जापान र कोरियामा निर्यात हुने सिवाकोटीले बताए । छुर्पीले जापानमा राम्रो बजार लिएको थियो । तर, गुणस्तरहिन छुर्पी पठाउँदा अहिले बजारनै बन्द भएको सिवाकोटीले बताए । उनले भने, जापानको बजार खुल्यो भने नेपाली छुर्पी एक पटक फेरी मूल्य पाउँछ ।

सिवाकोटीले छुर्पी निर्यात गर्दा मासिक २२ हजार केजी निर्यात गर्ने गरेको बताए । तीन जना कलेक्टरले संकलग गरेको लगभग ११ हजार केजी पनि निर्यात गर्दै आएका थिए । तर, जापानको बजार बन्द भएकाले छुर्पीले उच्च मूल्य पाउन सकेको छैन । छुर्पीको जापान निर्यात पनि बन्द भएको छ ।
फ्रेस्को इन्डष्ट्रिबाट उत्पादित १ करोड ३२ लाख मूल्यका १२ हजार केजी छुर्पी निर्यात गर्दै आएको सिवाकोटीले बताए । फ्रेस्को इन्डष्ट्रिले उत्पादन गरेका घीउले अष्ट्रेलिया र दुबईमा राम्रो बजार पाएको छ । उनले उद्योगबाट उत्पादित मासिक ६६ लाखको मासिक ११ हजार केजी घीउ अष्ट्रेलिया र दुबई निर्यात गर्दै आएका छन् ।

फ्रेस्को इन्डष्ट्रिले दैनिक ९ सय ४३ कृषकबाट ११ हजार लिटर भन्दा बढी दुध खरिद गर्दै आएको उनले बताए । दैनिक ४ लाख ९५ हजारको दुध कृषकबाट खरिद गर्ने गरेको उनले बताए । फ्रेस्कोबाट उत्पादित घिउ विदेशमा मात्र होइन नेपालमा पनि लोकप्रिय बनेको छ । काठमाडौंका बिग मार्ट र देशैभरका पाइने उनले बताए ।

इलाममा अन्य उद्योगले पनि मासिक करोडौं रुपैयाँको छुर्पी निर्यात गर्दै आएका छन् । छुर्पीको गुणस्तर कायम गर्न नसक्दा अमेरिका र जापानका बजार घटेको हो । नेपाली छुर्पी खुवाएपछि कुकुर भूत्ला झर्ने,

खुइलिन थालेपछि छुर्पीको बजारमा गिरावट आएको यसमा संलग्न बताउँछन् । जानकारका अनुसार फ्याटसहितको चुर्पीले कुकुरको भुत्ला झर्ने र अपच हुने बताइन्छ । त्यहि भएर नेपालमा परम्परागत रुपमा भनिन्छ, कुुकुरलाई घीउ पच्दैन ।

किन खुवाइन्छ कुकुरलाई छर्पी ?
मानिसले खाने छुर्पीको बजार मुलत नेपाल, भारत, भुटान, तिब्बत नै हो । तर, कुकुरले खाने छुर्पीको बजार अमेरिका, क्यानडा, युरोप र एशियाका धनी देशहरु हुन् । मानिसले खाने छुर्पी नौनीसहितको दुधबाट बन्ने गर्दछ । तर, कुकुरका लागि बनाइने छुर्पी फ्याटरहित हुने गर्दछ ।
दुधबाट नौनी निकालिने भएकाले कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर प्रोटिन मासुमा भन्दा बढी हुने भएकाले कुकुरका लागि छुर्पीको आहार राम्रो भएको प्रेस्को इन्डष्ट्रिका संचालक अर्जुन सिवाकोटीले बताए ।

सिवाकोटीका अनुसार, विदेशमा कुकुर हेर्ने मानिस राखिँदैन । कुकुरको मुख्य आहार मासु हो । तर, दिउँसो घरबाट सबै काममा निस्कनछन् । घरमा कुकुरको हेरविचार गर्ने कोहि नहुन सक्छ । र घरबाट निस्कँदा कुकुरलाई मासु दिए एकैछिनमा खाइसक्छ र केहि समयमै कुकुर भोकाउन थाल्छ । मासु दिँदा कुकुर र बस्ने ठाउँ फोहोर पनि हुन्छ । सफा गर्न समय र पैसा चाहिन्छ । हड्डी मात्र दियो भने कम फोहोर हुन्छ तर कुकुरलाई प्रोटिन नपुगेर कुकुर दुब्लाउने सम्भावना हुन्छ ।

नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो हुन्छ । यसमा मासुमा भन्दा बढी प्रोटिन पाइन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो पिस दियो भने कुकुरले खाइसक्न कम्तिमा पाँच घण्टा लागाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ । कुकुरको मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन भनिन्छ ।

छुर्पी मासु भन्दा सस्तो र सफा पनि हुन्छ । कुकुरले खाइ नसकेको छुर्पी पुनः खुवाउन सकिन्छ । तर, एक पटक दिएको मासु नखाए फाल्नु पर्ने हुन्छ । नत्र गन्हाउने सम्भावना हुन्छ ।

कुकुरले छुर्पी स्वाद मानेर खाने कारण भनेको छुर्पी सुकाउन धुँवाको प्रयोग गरिन्छ । धुँवाको वासना कुकुरले अधिक मन पराउने भएकाले छुर्पी मासु भन्दा लोकप्रिय भएको हो ।

झापा बिर्तामोडका सिवाकोटीले हर्कटेमा २६ महिना अघि डेढ करोडको लागतमा उद्योग संचालन गरेका हुन् । उनको उद्योगमा गउको मंसिरमा विद्युत् सर्ट भई आगलागि भयो । आगलागिबाट लगभग उद्योगको सबै सामग्री जलेर नस्ट भयो, उद्योगका अर्का संचालक मोहन सिवाकोटीले भने, इन्सूरेन्सले क्षति अनुसारको मूल्याङ्कन गरेको छैन, इन्सूरेन्सको पैसा अझै पाउन सकिएको छैन ।

छुर्पी र शेर्पा संस्कृति
छुर्पी हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले उत्पादन गर्ने खाद्य पदार्थ हो । चौरी र याकको दुधबाट छुर्पी उत्पादन गरिन्छ । हिमालय क्षेत्रमा छुर्पी लोकप्रिय छ । नेपालका हिमाली क्षेत्रका शेर्पा समुदाय छुर्पीलाई शेर्कम भन्दछन् । भुटानमा जोंख्खा भाषामा छुर्पीलाई दुरुकोवा वा दुरुवा भनिन्छ । तिब्बलमा पनि छुर्पीको उत्पादन तथा प्रयोग हुने गर्दछ । शेर्पा समुदायको संस्कृतिसँग छुर्पी जोडिएको छ ।

परम्परागत रुपमाले हिमाली क्षेत्रमा उत्पादन हुने छुर्पीले विदेशमा राम्रो व्यापार पाउन थालेपछि अन्य समुदायका मानिसले छुर्पीको उत्पादन र निर्यात गर्न थालेका हुन् । नेपाली वा हिमाली क्षेत्रमा मात्र उत्पादन हुने छुर्पी अहिले संसारभर लोकप्रिय हुँदै गएको छ ।sajilokhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार