कारवाहीमा परेका सवारी चालकको अनुमतिपत्र ट्राफिक कार्यालयमा थन्कियो

  प्रनिश थापा
0 Shares

चितवन : सामान्यतः कुनै पनि सवारीसाधन चलाउदा सवारी चालकसित अनिवार्य रूपमा नभइ नहुने चिज हो सवारी चालक अनुमतीपत्र अर्थात् लाइसेन्स । प्रचलित कानुन अनुसार चालकहरुसित अनुमति पत्र नभएमा कुनै पनि सवारीसाधन चलाउन नै पाउँदैनन् ।

तर, चितवनको जिल्ला ट्राफिक कार्यालयमा भने झन्डै ५-७ वर्षयता कयौं अनुमति पत्र, सवारी दर्ता किताब र सडक इजाजत पत्र त्यत्तिकै थन्किएर बसेको छ । कारबाहीमा परेका चालकहरु कार्वाही पश्चात् इजाजतपत्र लिन नआउँदा त्यत्तिकै थन्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले दिएको तथ्यांकलाई पल्ट्याउने हो भने त्यहाँ ६९१ वटा सवारी चालक अनुमतीपत्र, ६४० वटा सवारी दर्ता किताब र १६५ वटा सडक इजाजतपत्र थन्किएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा मात्रै कारबाहीमा परेका मध्ये ९१ वटा सवारी चालक अनुमतीपत्र, ९० वटा सवारी दर्ता किताब र २५ वटा सडक इजाजतपत्र कार्यालयमै थन्किएको कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार नियम उल्लंघन गर्नेलाई प्रहरीले कारबाही गरेको भए पनि यातायात व्यवस्था विभागमा हराएको भनी निवेदन दिएपछि बनाइदिने हुँदा प्रहरीमा भएको कागजात लिनै नआएको उनको भनाइ छ । ‘यातायात व्यवस्था विभागले कस्तो व्यक्तिलाई अनुमति पत्र दिने र कसरी हराएको हो भन्ने विषयमा गहन अध्ययन नगरीकनै कागजपत्र उपलब्ध गराइदिने हुँदा उतैबाट कागजपत्र हात पारिसकेका हुँदा रहेछन्’ उनले भने ।

कतिपयको भने तोकिएको मिति सकिएको हुँदा लिनै नआई हराएको भनेर अर्को बनाउने कारणले पनि यति धेरै कागजपत्र थुप्रिएको हुन सक्छ ।’ यातायात व्यवस्था कार्यालयले हराएका भनी निवेदन परेका सवारी धनीलाई प्रतिलिपि दिनका लागि ट्राफिक प्रहरीसँग समन्वय गरे कसैको कागजपत्र प्रहरीमा नरहने उनको भनाइ छ ।’

यातायात व्यवस्था ऐनको दफामा के छ ?

यता, यातायात व्यवस्था ऐन अन्तर्गत दफा १६४ को उपदफा ५ र ६ बमोजिम यसरी कारबाहीमा परेका सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब र सडक इजाजतपत्र लिन नआए एक महिनाका लागि यातायात व्यवस्था कार्यालयले निलम्बन गर्न सक्ने प्रावधान छ । उक्त समयभित्र पनि लिन नआएमा स्वतः खारेज गर्न सकिने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार