कहिलेकाँही पूरुष भएर जन्मनुमा धिक्कार लाग्छ

  रोमन आचार्य  144 पटक हेरिएको

सोमबार बिहान ६ः३० बजे अफिस पुग्दा पहिलो नजर कान्तिपुर दैनिकको एंकर न्यूजमा पर्‍यो । समाचारमा शिर्षक थियो ‘लखेट्दै लगेर बलात्कार’ । त्यहाँ दुईवटा समाचार थियो । त्यो समाचार ध्यान दिएर पढे । समाचारमा राजधानी काठमाडौंमा दिउँसै नातामा मामा पर्नेले उनका साथीहरुसँग मिलेर २१ वर्षे युवतीको सामुहिक बलात्कार भएको कुरा लेखिएको थियो । सँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नसालु पदार्थ सेवन गरेका तीन जना युवाले १५ वर्षीय बालिका बलात्कार गरेको समाचार लेखिएको थियो । मनमा चिसो पस्यो ।

यसमा शंकै छैन महिलाको बलत्कारी पूरुष नै हुन । जब मर्दाङगी हावी हुन्छ तब केटा जातीमा राक्षसी दिमाग हाबी हुन्छ । एक पूरुष भएर यो कुरा म ठोक्वा गरेर भन्न सक्छु । बाटोमा हिडेका राम्रो महिला देख्दा यो मेरो भइदिए हुन्थ्यो भन्ने मनसाय नराख्ने पूरुष सायद कमै होलान् । यही पूरुषार्थ र मर्दाङगी भन्ने शव्दले जब म र म जस्ता पूरुषहरुमा हैकम जमाउँछ अनि हुन्छन् हाम्रा समाजमा महिला बलात्कार । अनि हुन्छ हत्या । र बन्छ मिडियाको पहिलो समाचार । त्यो पनि तातो तातो ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको आजसम्म दुई महिना पुग्न लाग्यो । तर अपराधी पत्ता लाग्न सकेको छैन । निर्मलाका परिवार न्याय माग्दै राजधानी आइपुगेका छन् । प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउन सकिरहेको छैन । स्थानीय तह , प्रदेश र केन्द्र गरेर तीन तहको सरकार बनायौं भनेर हामी गर्व गरिरहेका छौं । तर, राजधानीमै दिनदहाडै किशोरी बलात्कार भएको समाचार लेख्दा लेख्दा पक्तिंकार पनि न्याय हराएको देश, सरकार विहीन मेरो देश भन्न बाध्य भएको छ ।

म पूरुष हुँ यो मलाई थाहा छ । तर मलाई जन्मदिने मेरी आमा महिला हुन् । मलाई आमाकै जती माया दिने त्यी मेरी दिदी महिला हुन् । म यो संसारमा धेरै माया अनि आदार म त्यही दुई महिलालाई गर्छु । मेरी आमा र मेरी नानी (दिदी) । जब बलात्कारका समाचारहरु आउँछन् अनी त्यी दुईलाई सम्झिन्छु । म लज्जा बोद गर्छु । दुई चार जना अपराधीक मनस्थितीका मानिसहरुले गर्दा कहिले काही मलाई पूरुष भएर जन्म लिनुमा हिन्ताबोध हुन्छ । आफैलाई धृणा लाग्छ । म जस्तै केही स्वार्थी पूरुषले मेरी आमा र मेरी नानी(दिदी) जस्तै नारीको अस्मिता लुट्यो र हत्या गर्‍यो भनेको लेख्दा , पढ्दा र सुन्दा मलाई म छोरा मान्छे भएर जन्म लिएकोमा साच्चै धृणा लाग्छ ।

दुःख त त्यो बेला लाग्छ, त्यी राक्षशि सोच भएका पूरुषहरुले भर्खर जन्मेका बालिका देखि वृद्धालाई समेत यौन सन्तुष्टिको साधन बनाए । अनि केही म पात्रले गर्दा मेरा बा ले मेरी आमा बलात्कार गरेको आरोप खेप्नु पर्छ । हो त्यीनै कु पात्रहरुले गर्दा आज मेरा अनि म जस्ता लाखौका बा आमाको बलत्कारी बने । पिडा त त्यो बेला हुन्छ, वर्ष दिनभित्रमा मात्र एक हजार भन्दा बढी बलात्कार भएको सुन्नु पर्दछ, अनि त्यही विषयलाई समाचार बनाउनु पर्दछ र सारा विश्वलाई सुनाउनु पर्दछ ।

पछिल्लो समय त युवतीमाथी आक्रमण नभएको दिन नै रहेन । आफ्ना छोरी बनाएर एसिड छर्कने पात्र , सम्बन्ध भित्रमा बलात्कारको प्रयास अब त लेख्दा लेख्दा हात गलिसके । यस्ता समाचार अखवारको प्रमुख समाचार नबनेको दिन छैन ।  वौद्धिक तप्काहरुले लेख्ने लेखको विषय नबनेको दिन छैन । राष्ट्रिय तथा मोफसलका पत्रिकाको सम्पादकीय नबनेको दिन छैन । रेडियो, टेलिभिजन अनलाईन सबैमा प्राथामिकतामा परेको छ यो विषय । तर किन न्यूनिकरण हुँदैन ? के केही वर्ष अघिसम्म बलात्कारका घटना हुँदैन थिए ? अहिले बलात्कारका घटना बढेका हुन् कि उजागर चाहिँ हुँदै गएको ? यो प्रश्नको जवाफ खोजि हुँदै जानेछ ।

युवती माथीको आक्रमण न्यूनिकरण सम्बन्धी पंक्तिकारले पनि टेलिभिजन कार्यक्रम बनाएको थियो । त्यतीबेला सामाजिक अभियन्ता, मानवअधिकारकर्मी, महिला आयोगका पदाधिकारी, मनोविद, महिलाको क्षेत्रमा कलम चलाइरहेका पत्रकार, अधिवक्तासँग साक्षात्कार र छलफल गर्ने मौका मिलेको थियो । छलफलका क्रममा महिला अधिकारकर्मी डा. अरुणा उप्रेतीले भन्नुभएको थियो –‘‘अहिले बलात्कारको घटना बढेको हैन, घटना उजागर चाहिँ हुन थालेको हो । मिडियाले यो विषयमा खोजीको दायरा बढाएको हो । तर समाज अझै खुलिसकेको छैन । साँच्चै सबै घटना बाहिर आउने हो भने यो संख्या थामिनसक्नु हुन्छ ।’’

धेरैले कानुन अनि सरकार कमजोर भएर बलात्कारको घटना न्यूनिकरण नभएको बिचार प्रस्तुत गर्छन् । एक थरी भन्छन् बलात्कारीलाई फाँसीको सजाय दिए यो समस्या न्ययुनीकरण हुन्छ । अर्को थरी भन्छन् फासी सबै समस्याको समाधन होइन । अपराधीलाई कडा भन्दा कडा कारबाही गरिनु पर्दछ, आजिवन कारावासको सजाय हुनुपर्दछ । हो धारणा आ–आफ्नो हो । तर, यसमा पंक्तिकारको आंशिक सहमति छ । हो घटना भइसकेपछि समयमा अपराधी पत्ता लगाउन नसक्नु सरकार , प्रहरी प्रशासन र कानुनको कमजोरी हो । सरकार यसमा चुकेकै हो । प्रमाणहरु लुकाइँदा, नष्ट गर्दा निर्मला पन्तहरुजस्ता धेरै चेलीहरु न्याय पाउनबाट बन्चित भएकै हुन् । तर अमेरिकामा हेर्ने हो भने चर्चका फादरहरुले पनि धेरै बालबालिकामाथि यौन हिंसा गरेका छन् । भारतमा पनि फासिको नियम छ तर पनि सार्वजनिक बसमा युवति बलत्कृत नभएकी होइनन् । त्यसकारण समस्याको समाधान माथिल्लो तहमा भन्दा पनि हामीमै छ भन्ने यकिन गर्न जरुरी छ ।

मनोविद डा. गंगा पाठकले भनेको कुरा यहाँ उल्लेख गर्न उपयुक्त ठान्छु । उहाँले भन्नुभएको थियो–‘‘यहाँ बालिका मात्र होइन बालक पनि यौन हिंसामा परेका छन् । युवतिहरु संख्या पनि उत्तिकै छ । कानुन आधार हो तर सबै थोक होइन । बलात्कार भएपश्चात् भन्दा हुन नदिन नै हामीले जोड दिने हो । त्यसका लागि परिवारबाटै थालनी हुन जरुरी छ । यौन शिक्षा सबै बालबालिकालाई घरबाटै सुरुवात गर्न जरुरी छ ।’’

नेपालीमा उखानै छ ‘‘रोग लागेर औषधी खोज्नु भन्दा रोग लाग्न नदिनु नै जाती’’ । निर्मला पन्तको घटना र परिस्थिती , राजधानीमा भएको दिनदाहडै घटना , मैना सुनुवार घटना लगायतका अन्य घटनाको पनि शुक्ष्म विष्लेषण गर्ने हो भने कानुनको बाटो मात्र हेरेर बस्ने समय छैन । अदालतमा मुद्दा लड्दा लड्दै धेरैले आत्मावल हारेका छन् । धेरै पिडित युवतिले मुद्धा फिर्ता लिएका छन् । नचाहाँदा नचाहाँदै मिलापत्र गरेका छन् । कयौले आत्माहत्या गरेका छन् ।

यसैकारण पनि आउनुहोस् अब परिवर्तनको सबुरुवात आफैबाट गरौं । समाजलाई थोरै परिस्कृत बनाऔं । बालबालिकालाई यौन शिक्षाको सुरुवात घरवाटै गरौं । अभिभावकले आफ्ना छोराछोरीलाई साथिसरह व्यवहारको थालनी गरौं । उमेर अनुसारको परिवर्तन र यसमा यौन चाहानाको आफ््ना भोगाइहरु आदानप्रदान गरौं । इन्टरनेट चलाइरहेको मेरो सन्तानले कस्तो शिक्षा लिदैछ , कस्ता साइडहरु हेर्दै छन् त्यसमा पनि अभिभावकले निगरानी गरौं । परिवर्तन कसैले लिएर वा ल्याइदिएर आउने विषय होइन । त्यसैले कानुन पनि सायदै चाहिदैन होला , जब समाज आफै शिक्षित हुन्छ भने । हो कानुन आवश्यक छ तर त्यो भन्दा अगाडि म तपाईं जस्ता पूरुष अनि महिला दिदीबहिनीहरु पनि शिक्षित हुन जरुरी छ । जब समाज शिक्षित बन्छ तब समस्या आफै आफै हल भएर जानेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार