दक्षिण एसियाकै अत्याधुनिक क्यान्सर अस्पताल विर्तामोडमा

बिर्तामोड : दक्षिण एसियाकै अत्याधुनिक क्यान्सर अस्पताल झापाको बिर्तामोडमा सञ्चालन हुने भएको छ । बिर्तामोड स्थीत बिएण्डसी अस्पतालकै ब्यवस्थापनमा आगामी पुसदेखी सञ्चालनमा आउने पुर्वाञ्चल क्यान्सर अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईले जानकारी दिए ।

प्रविधि प्रयोगका आधारमा पुर्वाञ्चल क्यान्सर अस्पताल क्यान्सर रोगको उपचारका लागि दक्षिण एसिया कै अत्याधुनिक अस्पताल बन्ने सञ्चालक प्रसाईले पत्रकार सम्मेलनमा बताए । प्रसाईले भने, ‘रेडिएशनका लागि हामीले जुन मेशीन ल्याउँदैछौं त्यो मेशीन युरोप र अमेरिकाका उत्कृष्ट क्यान्सर अस्पतालमा मात्र छ, दक्षिण एसियामा नै उक्त मेशिन बिर्तामोडमा पहिलो पटक आउँदैछ ।’

बरिष्ठ अङ्कोलोजीष्ट डा बिरेन्द्र यादबका अनुसार भारत र अन्य धेरै ठाउँ प्रयोग भईरहेको मेशिन ट्रयु बिन (True Bean) हो तर पुर्वाञ्चल क्यान्सर अस्पतालले त्यो सहित अर्को ६ महिना अगाडीमात्र बिश्व बजारमा आएको अत्याधुनिक हेल्सीअन (Halcyon) मेशीन ल्याउने भएकाले पनि क्यान्सर रोगीका आगि बरदान साबित हुनेछ ।

हेल्सीअन मेशीनले क्यान्सर रोगीलाई ३० देखी ४५ सेकेण्डमा रेडिएशन दिईसक्ने डा. यादवले जानकारी दिए । त्यस अतिरिक्त पेट सिटी स्क्यान, गामा क्यामेरा, क्याथ ल्याब, सिडि फोर मेशीन जडान गरी एउटा बिश्वस्तरिय अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालन हुने यादवले बताए ।

पूर्वाञ्चाल क्यान्सर अस्पतालमा जडान हुने मेशीनका लागि मात्र करीब एक अर्ब रुपैया लाग्ने र उक्त मेशीन आयातका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति प्राप्त भइसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । गिरीका अनुसार क्यान्सर अस्पतालका लागि आवश्यक सबै उपकरणहरु आगामी मंसिरसम्ममा बिर्तामोड आईपुग्नेछ ।

पुर्वाञ्चाल क्यान्सर अस्पताल सञ्चालनमा आएपछि नेपालका मात्रै होईन भारत, पाकिस्तान, बंलागदेश लगायत दक्षिण पुर्वी एसियाकै नागरिकले अत्याधुनिक सेवा लिन पाउने प्रा. डा. उमेशकुमार शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार