‘जनतासँग मेयर’ कार्यक्रम १० वडामा सकियो

  सुजता सुनुवार  203 पटक हेरिएको

इलाम  : इलाम नगरपालिकाले सुरु गरेको ‘जनतासँग मेयर’ कार्यक्रम १० वटा वडामा सकिएको छ । स्थानीय नागरिकसँग उचित सल्लाह सुझाव लिन र त्यसलाई कार्यन्वयन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम मंगलबार वडा नम्बर ७ मा सम्पन्न भयो । देश संघीयतामा जाँदै गर्दा जनप्रतिनिधिलाई काम गर्न समस्या, स्थानियबासीको जनगुनासो एकै स्थानमा बसेर साटासाट गर्न यो कार्यक्रमले पुलको काम गरेको बताइएको छ ।

कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी र विजुलीबत्ति, करलगायतका विषयलाई प्रमुखतासाथ गुनासाका रुपमा राखेका थिए । सहभागीमध्येकी स्थानीय ज्योतीमाला प्रधानले युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई समान रुपमा प्राथमिकतामा राखेर कार्य गर्न जरुरी रहेको सुझाव राखिन् ।

बजार क्षत्रमा पर्ने वडा नम्बर ७ नगरको विकासका लागी महत्वपूर्ण वडा मानिन्छ । सहभागीहरुले विजुलीको पोलले घर र स्थानीयलाई जोखिम भएको, कच्ची रोडका कारण हिँडडुलमा समस्या, सुचनाको सर्वसुलभ व्यवस्था हुनुपर्ने, सब्जी बजारको व्यवस्थापन गरिनुपर्ने, फोहोर उठाउने गाडीको नियमितताको व्यवस्था गरिनुपर्ने, नगरबासी सम्पूर्णले अनिवार्य धनिपूर्जा पाउनुपर्ने, झ्याऊकिरी खोल्सीले स्थानीयको जग्गा निरन्तर कटान गर्दै लगेकाले यसको उचित संरक्षण गरिनुपर्ने, नगरका भूस्स्याहा कुकुरको व्यवस्थापन गर्नुपर्ने र नगरपालिकाको दमकल राख्दा काम लाग्ने राख्नुपर्ने जस्ता पक्षमा नगरपालिकाले विशेष महत्वका साथ हेरिनुपर्ने स्थानीयले माग गरेका छन् ।

स्थानीयको मागलाई सम्बोधन गर्दै नगरपालिका प्रमुख महेश बस्नेतले देश संघीयतामा गएसँगै निर्वाचित जनप्रतिनिधिलाई काम गर्न समस्या भएको बताए । उनले भने, ‘यही असहजतालाई सहज बनाउन हामीले जनतासँग मेयर कार्यक्रम सञ्चालन गरेका हौँ ।’ कार्यक्रममा बोल्दै उनले गुनासो सुन्ने सुनाउने यो कार्यक्रम नेपालका पाँच सय ७६ नगरपालिकामध्ये इलाम नगरपालिका प्रथम भएको दावी समेत गरे । उनले सम्पूर्ण गुनासा टिपोट गरेको भन्दै गुनासालाई सम्बोधन गर्दै जाने प्रतिवद्धता जनाए ।

कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्देश्य वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरप्रवक्ता ठाकुरनारायण श्रेष्ठले प्रकाश पारे ।  सो कार्यक्रम वडा नम्बर ६ मा समेत मंगलबार नै सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार