जिल्ला प्रशासन कार्यालय चितवनको ५० वर्ष पुरानो भवन भत्काउन सकस

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनको ५० वर्ष पुरानो भवन भत्काउन सकस परेको छ । यसअघि दुईपटक आह्वान् गरिएको टेन्डर प्रक्रियामा कसैले पनि चासो नदिएपछि जिल्ला प्रशासन कार्यालय चितवनको जीर्ण भवन त्यत्तिकै परेको हो ।

दुईपटकको भवन भत्काउने बारे टेन्डरमा कुनै पनि फर्मले आवेदन नदिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । सो भवनको भित्ताका कापमा बिरूवा र झारहरु उम्रिएका छन् । भवनवरपर झार र बुट्यानको घारी छ ।

प्रवेशद्वारमै देखिने जीर्ण भवन व्यवस्थापनका लागि भएका प्रयासहरु असफल हुँदा पछाडीपट्टि रहेको नयाँ भवनको स्वरुप पनि राम्रो देखिएको छैन । वि.सं. २०२५ सालमा निर्माण गरिएको भवन भत्काउनका लागि लगत अनुमान तयार पार्न सहरी विकास कार्यालयलाई जिम्मा दिइएको थियो । लगत अनुमानअनुसार बोलकबोल रकम बढी भएको भन्दै भवन भत्काउन इच्छुक फर्महरुले हात नहालेका हुन् ।

३५ लाखको न्यूनतम बोलकबोलमा फर्महरुले भने २० लाखभन्दा बढी खर्च गर्न नसकिने जानकारी प्रशासन लाई दिएका छन् । ‘दुई वर्षअघिदेखि नै पुरानो घर भत्काउने निर्णयसहित पटकपटक टेन्डर आह्वान् भए पनि कसैले चासो नदिएपछि अहिले पुनः अर्को टेन्डर निकाल्ने तयारीमा छौँ’, प्रजिअ बस्नेतले भने । ‘अब एकपटक टेन्डर गर्छौं, भएन भने प्रहरी र सशस्त्र प्रहरीको प्रयोगमा आउने सामान छुटाई उनीहरुलाई नै भत्काउने जिम्मा दिन्छौँ’, उनले थपे ।

टेन्डर आह्वान् गरिएको रकम बढी भएकाले कसैले पनि चासो नदिएको पाइएको छ । पहिलोपटकको सूचनामा न्यूनतम ३५ लाख र त्यसपछि ३२ लाख हाराहारीमा बोलकबोल सूचना प्रकाशन गरिएको थियो । भवनको सम्पत्ति मूल्यांकनका आधारमा उक्त रकम प्राविधिकहरुले भनेअनुसार निश्चित गरिएको, तर उक्त रकम पनि धेरै भएको भनी केहीले गुनासो गरेको प्रजिअ बस्नेतले बताए ।

वार्षिक १० प्रतिशत कट्टी हुँदा पनि अहिले ३ लाखजति मात्रै घट्ने देखिन्छ । तर, इच्छुक फर्मले भने बढीमा २० लाख खर्चेर जीर्ण भवन व्यवस्थापन गर्न सकिने मौखिक जवाफ प्रशासनलाई दिएको छ । नयाँ भवनको विसं ०६९ जेठ २ गते सम्झौता भई काम सुरू भएको थियो । सिद्धबाबा पृथ्वी जेभीले भवन बनाउन निर्माण गरेको हो । २ वर्षअघि ६ करोड लागतमा नयाँ घर निर्माण भएपछि जिल्ला प्रशासन कार्यालय चितवनको काम अहिले नयाँ भवनबाट भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार