जंगली हात्तीको उपद्रो बढ्दो, स्थानीय त्रसित

चितवन : चितवनको माडी क्षेत्रमा जंगली हात्तीले उपद्रो मच्चाउन थालेका छन् । पर्सा निकुञ्जबाट जङ्गली हात्तीको लस्कर आएर आतंक मच्चाउन थालेपछि यहाँका स्थानीयवासी त्रसित बन्न पुगेका छन् । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले तीन साताअघिबाट माडी क्षेत्रमा पसेको जंगली हात्तीको बथानले स्थानीयवासी त्रसित भएको बताए ।

हात्तीले गएको शनिबार राति माडी नगरपालिका ७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको उनले बताए । हात्ती रातको समयमा बस्तीमा पस्ने र दिनभर वन क्षेत्रमा बस्ने गरेको छ । हात्ती आतंकबारे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल भन्छन्, ‘हात्ती लखेट्न हवाइ फायर, ट्याक्टरको आवाज र राँको बाल्ने, शङ्ख फुक्ने र होहल्ला गर्ने काम भइरहेको छ ।’

स्थानीयलाई सुरक्षाकर्मीले हात्ती लखेट्न सहयोग गरिरहेको उनको भनाइ छ । हालसम्म कुनै पनि मानवीय क्षति नभए पनि सम्भावित घटना हुन नदिन उच्च सावधानी अपनाउन सबैमा अपिल गरिएको ढकालले बताए । हात्तीको बथान बगइ हुँदै अन्य क्षेत्रमा पसेको छ । त्यस क्षेत्रमा करिब डेढ दर्जन हात्तीको बथान आएको स्थानीयले बताएका छन् । जसबाट दुई हात्ती छुट्टिएर सुखीभार क्षेत्रमा पुगेको ढकालले बताए ।

हरेक वर्ष धान पसाउने समयमा जङ्गली हात्ती बस्ती पस्ने गर्छ । धानसँगै घरमा भण्डारण गरिएको खाद्यान्न खाइदिने, घर भत्काउने, मानिसलाई समेत आक्रमण गर्ने गर्छ । अहिले हात्ती आएपछि स्थानीयवासीले रातमा सुत्न पाएका छैनन् । धान पाक्ने समयसम्म हात्तीले दुःख दिने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार