संविधान दिवसको अवसरमा मिनी म्याराथुन

  अतित योङहाङ  299 पटक हेरिएको

इलाम : संविधान दिवसको अवसरमा मंगलबार इलाममा खुल्ला मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । मूल समारोह समितिको आयोजना तथा इलाम नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला युवा समितिको संयोजनमा खुल्ला मिनी म्याराथुन दौड सम्पन्न भएको हो ।

इलाम चोकबजारदेखि धोविधारा-जिरो किलोमिटर-टुँडिखेल हुँदै चोकबजारसम्मको साढे ३ किलोमिटर पुरुष र महिला म्याराथुन आयोजना गरिएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ चन्द्रकुमार सुनार प्रथम (नेपाली सेना) भए । उनले १४ मिनेट ३० सेकेण्डमा दूरी पार गरेका थिए । दोस्रो स्थान हासलि गरेका मौषम तामाङ (माइपोखरी ट्रेनिङ सेन्टर इलाम) ले १४ मिनेट ४० सेकेण्डमा दूरी पार गरे । त्यस्तै सचित रार्इ (माइपोखरी ट्रेनिङ सेन्टर इलाम) ले १५ मिनेट १० सेकेण्डमा पूरा गरी तृतीय र शिशिर वाइवा तामाङ (नेपाली सेना) ले १६ मिनेट ५ सेकेण्डमा पूरा गरी सान्तवना घोषित भए ।

त्यस्तै महिलातर्फ शान्ता योङहाङ (नेपाली सेना) ले २० मिनेट ३० सेकेण्डमा दूरी पार गरी प्रथम र योजना कुमाल (नेपाली सेना) २० मिनेट ५८ सेकेण्डमा पार गरी द्वितीय स्थान हासिल गर्न सफल भइन् ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माइ पोखरी ट्रेनिङ सेन्टर इलामका २६ जना पुरुष र महिलाहरुले सहभागिता जनाएका थिए । विजेताहरुलार्इ बुधबार संविधान दिवसको दिन पुरस्कार वितरण गरिने मूल आयोजक समितिले जनाएको छ ।

संविधान दिवसकै अवसरमा मंगलबार दिउँसो जिल्लाका विभिन्न सरकारी कार्यालयहरुले आआफ्नो कार्यालयपरिसर सरसफार्इ गर्ने कार्यक्रम रहेको छ । साँझ कार्यालयमै दीप प्रज्वलनको कार्यक्रम तय गरिएको छ । त्यस्तै व्याटमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ ।

संविधान दिवसको अवसरमा बुधबार विहान प्रभातफेरी र प्रवचन कार्यक्रम  तय भएको छ । साँझ इलाम चोकबजारमा सामूहिक बृहत दीप प्रज्वलन गरी चौथो संविधान दिवस मनाइने मूल समारोह समितिले जनाएको छ   ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार