निर्माण सुरु भएको २६ वर्षपछि कालोपत्रे हुँदै फाल्‍गुनन्‍द मार्ग

  नयाँ बुलन्द  1932 पटक हेरिएको

इलाम : महत्वकांक्षी योजनाका रुपमा रहेको पूर्वका तीन जिल्ला जोड्ने सडक दमक-रवि-चिसापानी सडक (फाल्नुगन्द मार्ग) कालोपत्रे हुने भएको छ । सो सडकका लागि २ अर्ब २० करोड रुपैयाँ बजेट छुट्टिने भएसँगै अब पूर्णरुपमा कालो पत्रे हुने पक्का भएको हो ।

निर्माण उपभोक्ता समितिले सोमबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै सडक कालोपत्रे गर्न रकम बिनियोजन भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सडक उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले सडक ३ देखि ४ वर्ष भित्रमा कालोपत्रे भैसक्ने दावी गरे । पुरीले गत २९ भदौमा अर्थ मन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाले २ अर्ब २० करोड रुपँयाको बजेट बहुबर्षीय ठेक्काका लागि सुनिश्चित गरेको बताए ।

२६ वर्षअघि निर्माण सुरु गरिएको सो सडकको यसअघि ६.२ किलो मिटर कालोपत्रे भैसकेको छ । बाँकी २५ किलोमिटर सडक कालो पत्रे बनाउन नयाँ योजना सुनिश्चित भएको हो ।  इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडक खण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नती गर्न स्वीकृति प्राप्त भएको अध्यक्ष पुरीले बताए ।

दमक-चिसापानी-रवि सडक विक्रम सम्बत २०५० सालदेखि निर्माण थालिएको हो । अति अप्ठ्यारो र जोखिम क्षेत्र मानिएको रतुवा खोला क्षेत्रमा गएको हिउँदमा ट्रयाक जोडिएको थियो ।

यस सडकखण्डमा ५ वटा पुल रहेका छन् । त्यसमध्ये रतुवा खोलास्थित पुल निर्माण भइसकेको छ भने अन्य ४ वटा निर्माणाधिन अवस्थामा छन् । यसअघि चैतमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबो ‘मौसम’ ले यस सडकखण्डमा रहेका इलामको बाघमारा र घर्ती दोभानमा पुलको शिल्यान्याश गरेका थिए ।

बाघमारा र घर्ती दोभानमा पुलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी इलामको गजुरमुखी भगवती जेभीले ठेक्‍का लिएको छ । दुबै पुलको ठेक्‍का ५ करोड ९२ लाखमा भएको ठेकेदार निर्मल उप्रेतीले जानकारी दिए । २६ वर्षभन्दा अघिदेखि निर्माण सुरु भए पनि यस सडकले पूर्णता पाएको थिएन । यो सडक निर्माण भए झापादेखि ताप्लेजुङसम्मको यात्रा मेची राजमार्गभन्दा ७० किलोमिटरले छोटो हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार