सत्तासिन दलहरु संविधान विरुद्ध असोज ३ मा कालो दिवस मनाउने

  नयाँ बुलन्द  246 पटक हेरिएको

जनकपुर : सत्तारुढ तराई केन्द्रित दलहरुले असोज ३ गते कालो दिवस मनाउने तयारी गरेका छन् । संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रधानमन्त्रीले सार्वजनिक रुपमा आग्रह गरिरहेको बेला सत्तारुढ दलहरुले नै त्यो दिनलाई कालो दिवसको रुपमा मनाउने तयारी गरेका छन् ।

संघीय सत्ता गठबन्धनमा रहेको संघीय समाजवादी फोरम नेपालले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने छ । पूर्ण रुपमा संविधानलाई स्विकार्य नगरिएकोले मधेश विरोधी संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा मनाउने तयारी गरिएको बताईएको छ ।

फोरम नेपालका महासचिव रामसहाय यादवले भने, संविधान दिवसको विषयमा पार्टीले औपचारिक निर्णय गरिकेको छैन् । केहि दिन भित्रै पदाधिकारीहरुको बस्ने बैठकले असोज ३ को विषयमा निर्णय गर्ने उनले बताए ।

पार्टी र सरकार फरक फरक भएकाले असोज ३ गतेको विषयमा पार्टीले निर्णय लिने महासचिव यादवले बताए । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संघिय सरकारमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् ।सो पार्टीका अर्का साँसद सहरी विकास मन्त्री हुन् ।

संविधान घोषणा भएको दिनलाई संयुक्त रुपमा कालो दिवस मनाउँदै आएका फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यस वर्ष भने फरक ढंगले मनाउने भएका छन् । प्रदेश २ को सत्तामा फोरम र राजपा साथसाथ छन् ।

तर दुवै दलबीचको तिक्तता बढेको छ । संघीय सरकारमा राजपाको सहभागिता छैन् । राजपाले असोज ३ लाई कालो दिवस मनाउनेमा जोडदिएपनि हाल फोरम मौन देखिएको छ । प्रदेशको सरकारमासँगै रहेपनि राजपाले असोज ३ को संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने सार्वजनिक घोषणा गरिसकेको छ ।

हुनत पार्टीले औपचारिक रुपमा निर्णय गरेको छैन् ।तर प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले मधेश विरोधी संविधान घोषणा भएको दिन मधेशमा हत्या गरिएको र सम्पुर्ण तराई मधेशमा ‘ब्लैक आउट’ गरिएकोले त्यो दिनलाई कालो दिवसको रुपमा नै मनाईने बताए ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले पार्टी पदाधिकारीहरुको बैठकबाट यस सम्बन्धमा निर्णय लिईने बताए । ‘पार्टी र सरकार फरक फरक भएकाले मधेशी जनतासित विभेद गरिएको संविधानलाई पार्टीले पूर्ण रुपमा स्विकार गरिसकेको छैन्’ उनले भने, सबैले संविधानमा अपनत्व महसुस नगरे सम्म त्यसलाई स्वागत गर्न सकिदैन् ।

२०७३सालको संविधान अनुसार नै राजपा र फोरम स्थानीय, प्रादेशिक र संघिय चुनावमा सहभागि भएका हुन् ।प्रदेश र संघिय सरकारको मन्त्रीका रुपमा दुवै दलका नेताहरुले यसै संविधान अनुसार सपथग्रहण गरेकाले त्यसको विरोधमा कालो दिवस मनाउनुको औचित्य नरहेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु बताउँछन् ।

‘अब संविधानको विरोध गरेर जनता भ्रमित गर्ने मात्र हो’ नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश साँसद सत्यनारायण मण्डलले भने, त्यै संविधान अनुसार चुनाव लडेर सरकारमा पुगेकाहरुले त्यसको विरोध गर्नु हास्याष्पद नै हो ।

संविधानमा भएका कमजोरीलाई सच्चयाउन सरकार तयार रहेको र फोरमसित लिखित सहमति भएकाले संविधान संशोधन हुने निश्चित रहेको उनले बताए ।उनले संविधान दिवसको दिन कालोदिवस नमनाईने उनले विश्वास व्यक्त गरे ।

संविधानलाई कालोदिवस मनाउने विषयमा सत्तारुढ दल र तराई केन्द्रित दलहरुबीच तिक्तता बढन सक्ने संभावना देखिएको विश्लेषकहरु बताउँछन् ।

समाजिक सञ्जालहरुमा कालो दिवस मनाउने निर्णयको पक्ष र विपक्षमा मत विभाजित भएका छन् ।समाजिक सञ्जालमा केहिले तराई केन्द्रित दलहरुको उक्त निर्णयको आलोचना गरेका छन् ।तर धेरैले संविधान घोषणाको दिनलाई तराईका आन्दोलनकारी शक्तिहरुले कालो दिवस नै मनाउनु उपयुक्त भएको टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार