पत्रकार बस्नेतलाई विनाशर्त रिहा गर्न प्रेस युनियनको माग

काठमाडौं : समाचार प्रकाशित गरेकै आधारमा सोमबार विहान पक्राउ परेका खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई विनाशर्त रिहा गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।

अदालतको आदेश लिएर प्रहरीले बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्ने भनी काठमाडौं जिल्ला अदालतबाट २०७५।०५।२४ गते पक्राउ पुर्जीका लागि आदेश लिएर पक्राउ गरेको भन्दै प्रेस युनियनले तत्काल रिहाइको माग गरेको हो ।

मंगलबार नेपाल प्रेस युनियनका महासचिब अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, सुचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा नलगाउने मान्यता विरुद्ध एवं सो ऐनमा आकर्षित नै नहुने विषयमा राज्यसत्ताको चरम दुरुपयोग गरी पत्रकारलाई अनावश्यक दुःख दिने र धरपकड गर्ने पूर्वाग्रही सोच र मनसाय प्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सरकारले आफ्ना कमजोरी र भ्रष्टाचारका विषयहरु लुकाउन सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि ऐन र अदालतको दुरुपयोग गर्दै राज्यसत्ताको शक्तिको आडमा आक्रमणमा उत्रिएको भन्दै युनियनले आपत्ति जनाएको हो ।

एकपछि अर्को गर्दै विभिन्न वहानामा वा विचार, सिद्धान्त र आस्था नमिलेकै आधारमा संचारकर्मी र संचारमाध्यममाथि सरकारले गरिरहेको दमन, विभेद र पक्राउजस्ता अत्यन्तै आपत्तिजनक घटनाको युनियन निन्दा गर्दछ, विज्ञप्तीमा उल्लेख छ ।

अन्य कानुनी उपचार हुँदाहुँदै संचारकर्मीलाई पक्राउ गर्ने र विद्युतीय कारोबार ऐन मुद्दा चलाउनेजस्ता गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक घटनाले सिंगो नेपाली प्रेस तथा प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमण युनियनको आरोप छ ।

घटनाको सत्यतथ्य छानविन गरी पक्राउ परेका संचारकर्मी राजु बस्नेतलाई विना शर्त रिहाइ गर्न महासचिब शिवाकोटीले विज्ञप्तीमार्फत माग गरेका छन् ।

बस्नेत ललितपुरमा बसेर पत्रकारिता गर्दै आइरहेका छन् । उनलाई यसअघि पनि जग्गा विवाद सम्बन्धी समाचार प्रकाशित गरेकै आधारमा पक्राउ गरिएको थियो ।imagekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार