दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या : कान्छोको मृत्यु, डोरी छिनेपछि जेठो बाँच्न सफल

  नयाँ बुलन्द
0 Shares

मोरङ : मोरङको बुढीगंगा गाउँपालिका २ अमाही भन्ने ठाउँकी एक महिलाले दुई छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि सोमबार आफूले पनि आत्महत्या गरेको खुलेको छ । छोराहरु १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा डोरीको पासो लगाउँदै झुन्ड्याएपछि २९ वर्षीय कविता यादवले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको खुलेको हो । प्रहरी घटनास्थलमा पुग्दा विहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ । जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेका कारण उनलाई भने जीवितै भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा आमाले आफू झुन्डिएर आत्महत्या गर्नु अघि दुबै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको देखिएको जानकारी एसपी केसीले दिए ।
झुन्ड्याएको डोरी छिनेका कारण बाँचेका जेठो छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ । ‘आमाले झुन्ड्याएका मध्ये कान्छो छोराको मृत्यु भएछ,’ केसीले भने, ‘डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भए पनि जीवितै भेटियो ।’

दुबै बालक नजिकैको स्कुलमा पढ्ने गर्थे । प्रहरीका अनुसार विहान १० बज्दा पनि दुबै जना स्कुल नपुगेपछि स्थानीय बासिन्दाले गएर हेर्दा घरमा भित्रबाट आग्लो लगाएको देखेर होहल्ला गरेका थिए । घर बाहिर होल्ला हुन थालेपछि कविताका जेठो छोरा निशान घर भित्र रुन थालेका थिए । भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रुन थालेको सुनेपछि प्रहरीलाई खवर गरिएको वडा सदस्य गाडीलाल सिक्दारले बताए । उनका अनुुसार प्रहरी पुगेर घरको ढोका खोलेपछि कान्छो छोरा र आमाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो भने जेठो छोरा रोइरहेका थिए ।

स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको दुई वर्ष अघि नै निधन भइसकेको थियो । सोही घरमै बस्दै आएकी कवितासंग केही समयदेखि भारतको फारवेशगन्ज घर र विराटनगरमा काम गर्दै आएको बताउने रामदेव झा बस्दै आएका थिए । ‘कविताले दोस्रो विवाह गरेको र रामदेवलाई कान्छो पति भनेर भन्ने गर्थिन,’ वडा सदस्य सिक्दारले भने, ‘केही समयदेखि दुई जना सोही घरमा संगै बस्दै आएका थिए ।’ कविताले कान्छो पति भनेर वरपर चिनजान गराएका रामदेव चार÷पाँच दिनमा एक पटक त्यहाँ आएर कवितासंगै बस्ने गरेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका छन् । कविताका दुबै छोरा भने पहिलाका पति अमरलालतर्फका हुन् ।

वडा सदस्य सिक्दारका अनुसार स्थानीय बासिन्दाले आइतबार राति कविता र रामदेवबीच झगडा भएको सुनेका थिए । ‘पति पत्नीबीचमा केही समयदेखि वादविवाद र झगडा हुँदै आएको रहेछ,’ उनले भने, ‘आइतबार राति पनि दुई जनाबीच झगडा भएको गाउँलेले सुने पनि उनीहरुबीचमा के कारणले झगडा भएको हो भन्ने खुलेको छैन ।’ विहान घटना भएपछि कविताले कान्छो पति भनेर चिनाएका रामदेवलाई भने घटनास्थलमा नभेटिएको सिक्दारको भनाइ छ । उनका अनुसार प्राय साँझ परेपछि त्यहाँ आउने रामदेव भनिने व्यक्ति प्राय विहान चार÷पाँच बजे उठेर जाने गरेका थिए । ‘त्यहाँ आएको दिन पनि प्राय विहान सबेरै हिंड्ने गरेका थिए,’ वडा सदस्य सिक्दारले भने, ‘पति पत्नी भनेर भनिएका कारणले पनि ती व्यक्तिका बारेमा त्यति सोधीखोजी र चासो गाउँलेले नराखेको पाइयो ।’

एसपी केसीले रामदेव भनिने व्यक्ति सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको जानकारी दिए । उनलाई नियन्त्रणमा लिएपछि घटनाका बारेमा थप कुरा बाहिर आउने र घटनाका बारेमा पनि केही सुराक मिल्ने अपेक्षा प्रहरीले गरेको छ । ‘दुईजना बीच राति झगडा भएको कुरा छ । विहान यस्तो घटना हुँदा ती व्यक्ति त्यहाँ भेटिएनन्,’ केसीले भने, ‘घटना शंकास्पद रहेका कारण सबै कोणबाट अनुसन्धान सुरु गरिएको छ । राति घरमा रहेका र घटना हुँदा त्यहाँ नभेटिएका व्यक्ति नै को थिए भन्ने बारेमा राम्रोसंग प्रष्ट पनि हुन सकिरहेको छैन ।’

उपचारका लागि नर्सिङ होम पु¥याएका १० वर्षीय बालक निशानले भने आमाले सुरुमा भाई र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको प्रहरीलाई बताएका छन् । ‘हामी सुतिरहेका बेला थियौं । त्यत्तिकैमा भाईलाई आमाले झुन्ड्याइसक्नु भएछ,’ ती बालकलाई उद्रित गर्दै घटनाको अनुसन्धान गरिरहेका एक प्रहरीले भने, ‘पछि मलाई पनि झुन्ड्याउन खोज्दा मैले थाहा पाएँ । आमाले कसैलाई केही नभन्नु भन्दै कराएपछि मैले केही पनि बोल्न सकिंन ।’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार बालकले आफूलाई झुन्ड्याउन साथ आमा पनि डोरी लगाएर झुन्डिएको बताएका छन् । उनका अनुसार आमा डोरी लगाएर झुन्डिएको केही बेरमै आफूलाई झुन्ड्याएको डोरी भनेर चुँडिएर आफू भूइँमा खसेको ती बालकले बताएका छन् । ‘१० वर्षीय बालकलाई भने झुन्ड्याएको डोरी छिनेका कारण उनी बाँच्न सफल भएको पाइयो ,’ डीएसपी थापाले भने, ‘घाँटीमा डोरीले कसेको डामले उनलाई पनि झुन्ड्याइएको थियो भन्ने कुराको पुष्टि गर्छ ।’

उपचाररत बालकको शरीरका विभिन्न भागमा कुटपिट गरेको निलडाम र चोटपटक पनि छ । ती बालकले आफूलाई बुवाले राति कुटपिट गरेको बताएको जानकारी डीएसपी थापाले दिए । ‘आमा र बुवाबीच राति झगडा भएको थियो,’ ती बालकलाई उद्रित गर्दै थापाले भने, ‘त्यही झगडाका क्रममा भाई र मलाई पनि बुवाले कुटपिट गर्नु भयो ।’ उनले घरयासी विवादका कारण यस्तो घटना भएको हुन सक्ने पनि बताए । ‘दोस्रो पति भनिएका व्यक्तिसंगको झगडापछि महिलाले दुई छोरालाई झुन्ड्याएर आफूले पनि आत्महत्या गरेको देखिन्छ,’ डीएसपी थापाले भने, ‘घरयासी विवादपछि घटना भएको हो की घटना हुनुको अर्को कुनै कारण छ भन्ने बारेमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

बाहिरबाट हेर्दा घाँटीमा डोरीको पासो लागेको बाहेक महिलाको शरीरमा भने कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । आमा र नावालक छोराको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । शवको पोष्मार्टमपछि पनि घटनाका बारेमा धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ । पूर्वेली न्युजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार