पुल नहुँदा स्थानीयलाई बर्सेनि सास्ती

  नयाँ बुलन्द  116 पटक हेरिएको

इलाम : दक्षिणी इलामको चुलाचुलीबाट झापाको दमक जोड्ने रतुवा खोलामा पुल नहुँदा स्थानीयले सास्ती बेहोर्नु्परेको छ । चुलाचुलीस्थित आँप झोडा र बुकुवाका स्थानीयले वर्षौंदेखि समस्या झेल्दै आएका छन् ।

त्यहाँ रहेका करिब तीन सय घरधुरीको दैनिकी चलाउन ज्याला मजदुरीदेखि दैनिक उपभोग्य सामानका लागि उनीहरू खोला तरेरै दमकसम्म आउनुपर्ने बाध्यता छ । खोलामा पुल नहुँदा उनीहरू जोखिम मोलेरै खोला तर्न बाध्य छन् । बर्खाको समयमा त झनै उनीहरूलाई समस्या पर्ने गरेको छ ।

उच्च शिक्षाका लागि त्यहाँ विद्यार्थीसमेत दमक आउने गर्छन् । उनीहरूले पनि खोलामा बाढी आउँदा विद्यालय नै छाड्नुपर्ने अवस्था रहेको छ ।

खोलामा पुल नहुँदा आफूहरूलाई धेरै समस्या भएको चुलाचुली–५ बुकुवाका ईश्वरी विश्वकर्माले बताए । उनले आफ्नो दैनिकी दमकसँग जोडिएकाले त्यहाँ पुल नबन्दा धेरै समस्या भएको बताए । उनले भने, ‘हाम्रो सबै दैनिकी दमकसँग जोडिएको छ, मजदुरी गर्नेदेखि, दैनिक उपभोग्य सामान ल्याउनसमेत खोला तरेरै दमक जानुपर्ने बध्यता छ । तर, हाम्रो बाध्यतालाई कसैले बुझेन ।’

‘हामी त श्रीलंकाको टापुजस्तै ठाउँमा बसेका छौँ’, उनले भने, ‘न हाम्रो दुःखलाई झापाले देखेको छ, न इलामले देखेको छ, यहाँ एउटा झोलुंगे पुल मात्र बनाइदिए पनि हुने थियो ।’

उनले पुल बनाउने धेरै हल्ला सुने पनि अहिलेसम्म नबनेको गुनासो गरे । उनले भने, ‘पुल बनाउने भन्ने हल्ला भएको त धेरै वर्ष भयो तर अहिलेसम्म बनेको छैन । तल सिम्लेमा पक्की पुल पनि बनिसक्यो तर हामी सधैँ यसरी नै दुःख गर्नुपरेको छ ।’

उनले बिरामी पर्दासमेत समस्या पर्ने गरेको बताए । ‘बर्खाको समयमा त बिरामी परियो भने झन् समस्या हुन्छ’, उनले थपे, ‘टाउको दुःखेको सिटामोल किन्नसमेत दमककै भर पर्नुपर्ने हुन्छ, अनि ठूलो बिरामी भएका वेला खोलामा बाढी आउँदा के होला ?’

रतुवा खोलाले विद्यार्थीलाई झन् धेरै मर्कामा पारेको स्थानीय विद्यार्थी वबिन बाँस्कोटाले बताए । उनले भने, ‘बिहान क्याम्पस जाँदा खोलामा बाढी आएको हुँदैन बेलुका घर फर्कंदा खोलामा बाढी आएर तर्नै सकिँदैन, कतिपटक त राती १२ बजेसम्म पनि खोला घट्छ कि भन्दै पर्खेर बसेको छु ।’

उनले खोलाकै कारण आफ्नो पढाइ पनि छुटेको बताए । ‘खोलाको शिरमा पानी आयो भने खोला बढिहाल्छ, बिहान कलेज जान भनेर आउँदा खोलामा बाढी आइरहेको हुन्छ कसरी खोला तर्ने ?’ प्रतिप्रश्न गर्दै उनले भने, ‘कतिपटक त क्याम्पस नै छुटेको छ ।’

पटकपटक यस क्षेत्रबाट चुनाव जितेर पनि सांसद् सुवास नेम्बाङले आफूहरूको समस्या समाधान नगरेको उनले गुनासो गरे । उनले खोला सँगसँगै खानेपानी र सडकको पनि त्यतिकै समस्या रहेको बताए । ‘अरू ठाउँबाट हेर्दा दमकसँगै जोडिएको सुगम ठाउँजस्तो देखिन्छ, तर यहाँको पीडा हामीलाई मात्र थाहा छ’, उनले थपे, ‘बर्खाका लागि हिउँदमा नै खाद्यान्नहरू दमकबाट ल्याउनुपर्छ ।’

ज्यान जोखिममा राखेर खोला नतरौँ भने पनि यही ज्यानका लागि तर्नै पर्ने बाध्यता रहेको स्थानीय चित्रबहादुर कार्कीले बताए । उनले भने, ‘खोला तरेर दमकतिर नजाउँ भने पनि नुन, तेल सकिन्छ, अनि बिरामी पनि भइन्छ, अस्पताल जानै प¥यो । अनि ज्यान जोखिममा नराखे के गर्नु ।’

नयाँ आएका जनप्रतिनिधिबाट भने केही अपेक्षा गरेको उनी सुनाउँछन् । ‘माथिको सरकारले त हाम्रो समस्यालाई देखेन ।’ उनले थपे, ‘अब हामीले नै जिताएर बनाएको यहीँको सरकारले चाहिँ हाम्रो समस्या समाधान गर्छ भन्नेमा आशा लागेको छ ।’ सौर्य दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार