नारायणी नदीले तटबन्ध भत्काएर कटान सुरु गरेपछि स्थानीय त्रसित

  नयाँ बुलन्द
0 Shares

चितवन : बेलाबेलामा बितण्डा मच्चाइरहने नारायणी नदीले चितवनको गोलाघाट क्षेत्रमा तटबन्ध भत्काई कटान गर्न थालेसँगै स्थानीयमा त्रास फैलिएको छ ।

अत्याधिक वर्षाका कारण नदीमा बहाब बढेसँगै भरतपुर महानगरपालिकाका अन्तर्गतको सो क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।अर्कोतिर तटबन्ध भत्किएपछि  ठेकेदार कम्पनीमाथि पनि प्रश्न उठेको छ ।भरतपुर महानगरपालिका वडा नंं. २७ र २८ क्षेत्रका स्थानीयवासी आतंकित छन् ।पानीको बहाब बढेपछि नदीले तबन्धन भत्काएर कटान गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको हो ।तटबन्ध भत्काएपछि कटान रोक्नको लागि स्थानीय र नेपाली सेना, प्रहरी अहोरात्र  खटिएका छन् ।

जालीमा ढुंगा भर्नेदेखि रुख ढालेर कटान छेक्नेसम्मका प्रयास उनीहरुले गरिरहेका छन् ।आफ्नो वासस्थानमै यस्तो जोखिम बढेपछि स्थानीयवासी ठेकेदारप्रति आक्रोशित छन् ।अन्य ठाउँबाट ग्राबेल ल्याएर तटबन्धनको काम गर्नुपर्नेमा त्यहीँकै सामग्रीले तटबन्धन गरेकोले यस्तो भएको स्थानीयको आरोप छ ।

नदीले करिब १ सय मिटर क्षेत्रको तटबन्ध भत्काएको छ । जसका कारण नदी छेउका दुई घरको सामान समेत सारिएको छ ।त्यतिमात्र होइन  कटान भइरहकोले महानगरपालिकाका वडा नं २८ र २७ का सालबास, सिसाबास पर्साबजार, लौखरी, गोलाघाट र अनौलीआसपासका क्षेत्रमा बाढी पस्ने जोखिम छ ।

उसो त यो समस्या पहिलोपटक भने होइन गतवर्ष पनि सोही क्षेत्रमा कटान भएको थियो । त्यसकारण पनि तारजालीको भरमा मात्र पर्न नहुने आयोजनाका कर्मचारीको सुझाव छ ।भरपर्दो नदी तटबन्धनका लागि १० अर्ब ५० करोड बजेटको गुरुयोजना निर्माण गरी काम पनि थालियो तर २०७३/७४ सम्म १० बर्षमा १ अर्ब ६ करोड रकम मात्र खर्च भएको देखिन्छ ।

भर्खर बनाएको तटबन्धन गर्लम्म भत्किएपछि करिव डेढ करोड रुपैयाँ त बालुवामा पानी हालेजस्तै स्वाहा भएको छ । जसले आयोजनाकाको कामप्रति समेत प्रश्नचिह्न उठेको छ ।यसमा उचित छानबिन गर्नु त छँदैछ  त्यसमा पनि वर्षेनी देखिने जोखिम न्यूनीकरणका दीर्घकालीन रणनीति आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार