अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना

क्याप्टेनसहित सातजना सवार सो हेलिकोप्टर उडेको केही बेरमै सम्पर्कविहीन

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : गोरखाको सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार धादिङको सत्यदेवी क्षेत्रको जंगलमा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल ५ हजार ५०० फिटको उचाइमा रहेको सो कार्यालयले जनाएको छ ।

क्याप्टेनसहित सातजना सवार सो हेलिकोप्टर उडेको केही बेरमै सम्पर्कविहीन भएको थियो । ९एनएएलएस (एएस३५०बी) कल साइन भएको हेलिकोप्टरमा क्याप्टेन निश्चल केसी, जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको एयरलाइन्सले जनाएको छ ।

काठमाडौंमा अनुमानित आगमन समय बिहान ८ः२० मा रहेको सो हेलिकोप्टर ८ः०५ मा सम्पर्कविहीन भएको विमानस्थल कार्यालयले जनाएको छ । खोज तथा उद्धारका लागि अल्टिच्युड एयरकै एक र श्री एयरलाइन्सको दुई गरी तीन हेलिकोप्टर परिचालन गरिएको छ ।

हेलिकोप्टर के कारणले दुर्घटना भएको हो भन्ने प्रष्ट भइसकेको छैन । उद्धारकर्मीहरु घटनास्थलतर्फ परिचालन गरिएको र यात्रुको अवस्थाबारे जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार