जापानमा शक्तिशाली आँधी

दुईको मृत्यु, ९७ घाइते -१२ लाख मानिसलाई घर छाड्न चेतावनी

टोकियो : जापानमा २५ वर्षयताकै शक्तिशाली आँधीका कारण कम्तीमा १२ लाख मानिसलाई घर छाड्न चेतावनी दिइएको अधिकारीहरूले जनाएका छन् ।

जापानी सञ्चारमाध्यमका अनुसार हालसम्म २ जनाको मृत्यु भएको जनाएका छन् । एनएचके टेलिभिजनले ९७ जना घाइते भएको उल्लेख गरेको छ । आँधीका कारण दसौं हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । हजारौं उडान, रेल तथा फेरीहरूले सेवा रद्द गरेका छन् । ओशाका नजिकैको देशकै लोकप्रिय मनोरञ्चन पार्क बन्द भएको छ ।

‘जेबी’ नामको आँधी प्रतिघण्टा २ सय १६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको मौसमविद्ले जनाएका छन् । आँधीका कारण जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भएको छ ।

ओशाका बे मा एक टयांकर बगेको तथा एक ट्रक पुलबाट खसेको अधिकारीहरूले जनाएका छन् । क्योटो क्षेत्रमा आँधीले कतिपय रेल स्टेसनका छत उडाएको छ ।

मौसम अधिकारीका अनुसार मंगलबार बिहान सिकोकु टापुमा आँधीका कारण भएको भारी वर्षा जापानकै ठूलो होन्सु टापुमा सरेको हो । बीबीसीका अनुसार जापानको मौसम विभागले भारी वर्षापछि सामुद्रिक छाल, बाढी तथा पहिरो आउन सक्ने चेतावनी दिएको छ ।

जापानी प्रधानमन्त्री सिन्जो अबेले मन्त्रिपरिषदको आपत्कालीन बैठक गरेका छन् । उनले ‘सर्वसाधारणलाई आफ्नो जीवन सुरक्षाका लागि ध्यान दिन तथा सकेसम्म चाँडो आँधी प्रभावित क्षेत्र छाड्न’ आग्रह गरेका छन् ।

उनले उद्धारकार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । अबेले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भने, ‘सोमबार साँझबाट सुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ र यसले पुर्‍याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरू अपनाउनेछ ।’

उनले मंगलबार बिहानदेखि आँधीको गति झनै बढदै गएको देखिएको बताए । कुरुताले ‘विभिन्न स्थानमा पहिरो गएकाले तत्काल प्रभावित स्थानमा उद्धार गर्न सम्भव नभएको जनाए ।

मौसमविद्ले जेबी सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली भएको भन्दै नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र सरकारी सूचनालाई मनन गर्न आग्रह गरेका छन् ।

गत जुलाईमा जापानमा गएको बाढी तथा पहिरोका कारण २ सयभन्दा बढी मानिसको ज्यान गएको थियो । त्यसपछिको तातो हावाका कारण पनि जापानमा दर्जनौं मानिसको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार