रोपाइँको अभिनय सहित मनाइँदै रोपाइँजात्रा(फोटो फिचर)

इलामको मंगलबारेमा आज

  टीका खतिवडा  271 पटक हेरिएको

इलाम : अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । नयाँ अनि चिटिक्क गरेको सारीमा रोपाहार त कोट, पाइन्टमा सजिएका बाहुसे । यो यथार्थ घटना इलामको मंगलबारेमा आजको हो । सारी चोली अर्थात बेहुलीको भेष धारण गरेर रोपाहार त बेहुलाको भेष धारण गरेर बाहुसे ।
पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व जिल्लाका विभिन्न ठाउँहरुमा मनाइने गरिन्छ ।

इलामको देउमाई नगरपालिका स्थित मंगलबारे वजारमा यस्तै गरेर आज धुमधामका साथ यो पर्व मनाइँदै छ । ५० वर्ष अधिदेखी मनाउन सुरु गरिएको यो पर्व जनै पूर्णीमा पछिको बुधबार लाग्ने हटियाको अवसरमा मनाइन्छ । स्थानिय भानुभक्त माविले आयोजना गरेको यो जात्रामा विभिन्न किसिमका मौलिक पराम्परा र जातिय प्रस्तुति प्रदर्शन गर्ने गरिन्छ ।

पञ्चै वाजाको तालमा रोपाहार र बाहुसेले वजार विचमा रोपाइँको अभिनय गरेर यो पर्व मनाउने गरिन्छ । मंगलबारेमा निकालिने रोपाइँजात्रा विशिष्ठ किसिमको हुने भएकाले आन्तरिक पर्यटकहरको समेत उल्लेख्य उपस्थिती रहन्छ ।
सुरुमा विद्यालयको स्थिती नाजुक रहेको अवस्थामा रकम जुटाउन र शिक्षकलाई तलब खुवाउनका लागि जात्रा निकाल्न थालिएको विद्यालयमा पूर्व प्रधानाध्यापक प्रकाशचन्द्र खनालले वताउनु भयो ।

आज विद्यार्थीहरुले रोपाहार, बाहुसे लगायत साधु, जोगी, मुङ्ग्रे, सहित जातिय झाँकी प्रदर्शन गर्ने गर्दछन् । लोप हुन लागेको बेठी समेत प्रस्तुत गरिन्छ ।
संगिनी, बालन लगायतका साँस्ककृत झल्कने विभिन्न प्रस्तुतीले यहाँको वातावारण संगितमय बनेको हुन्छ ।
साथै विभिन्न लोकभाका सहित वजारमा देउशीभैली झैँ घरघरमा गितगाउँने चलन समेत छ । यस वर्ष पनि नौ सय वढि विद्यार्थी जात्रामा सहभागी भएको विद्यालयमा प्रधानाध्यापक बासुदेव कट्टेलले वताउनुभयो ।

उहाँका अनुसार करिव पाँच हजार वढिले अवलोकन गर्ने वताइएको छ । यहाँको रोपाइँ जात्रा हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट स्थानियको घुइँचो लागेको छ ।

त्यस्तै एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा भोली मनाइने भएको छ । जिल्लाको सदरमुकाम इलाम बजारमा बिहीबार यो जात्रा मनाइने भएको हो ।

राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा सुुरु गरेको रोपाइजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिन्छ । यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पु¥याउँदै आएको छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ । इलाम कलासंस्कृतिको धरोहर भएकाले युवा पुस्तामा कला संस्कृति जर्गेना गराउन सिकाउने उद्धेश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइजात्रा संचालन भइरहेको छ ।

जात्रालाई स्थानीय पर्वका रूप मनाउँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरुका विद्यालयहरूमा बिहीबार बिदा समेत दिइने गरिन्छ । रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाइन्छ । यो जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपेको हेर्न पाइन्छ । रोपाइँजात्राको रौनक हेर्न विगत वर्षहरुमा झैं यस वर्ष पनि पाँचथर, झापा, ताप्लेजुङका आन्तरिक र भारतको दार्जिलिङ, सिक्किम, गान्तोकका बाह्य पर्यटकहरु आएका छन् ।

नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहन्छ । जनैपुर्णिमा सकिएपछि कृष्णाजन्माष्टमी आउनुअघिको बिहीबार पारेर इलाम सदरमुकाममा रोपाइँजात्रा निकालिने प्रचलन अनुरुप यसपटक रोपाइँ जात्रा निकालिएको नेपाल भाषा तथा संस्कृति समाजका ऋषिप्रसाद श्रेष्ठले बताउनुभयो । इलाम जिल्लाका अन्य क्षेत्रमा भने यो जात्रा बेग्ला–बेग्लै दिन पारेर निकालिन्छ ।

त्यस्तै इलामको माइजोगमाईको नामसालिङ र देउमाई नगरपालिकाकै जितपुर माई नगरपालिकाको शुक्रबारे वजारमा पनि यो जात्रा निकालिने गरेको छ । यस जात्रालाई हिले जात्रा पनि भन्ने गरिन्छ ।
बर्खा सिजनमा धान रोपेर गलेका स्थानियलाई वजार सम्म गएर एकदिन भएपनि मन भुलाउन मद्धत पुग्ने भएकाले पनि यो पर्व मनाइने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार