लुम्बिनीमा उच्च सुरक्षा, सीमा क्षेत्रमा कडाई

  नयाँ बुलन्द
0 Shares

भैरहवा : बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका दुई विशिष्ट पाहुना गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने भएपछि लुम्बिनीमा उच्च सर्तकर्ता अपनाइएको छ । म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउने भएपछि सुरक्षा सतर्कता बढाइएको हो ।

सुरक्षा निकायले लुम्बिनी भ्रमणमा आउने दुवै राष्ट्रपतिका सुरक्षा चुनौतीको विश्लेषण गर्दै जिल्लाको सीमा क्षेत्रमा व्यापक कडाई गर्नुका साथै लुम्बिनीमा उच्च सर्तकर्ता अपनाएको हो । राष्ट्रपतिहरुको सुरक्षार्थ सरकारले देशको चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सस्शत्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी एक हजार ६ सय जना सुरक्षाकर्मी लुम्बिनीमा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रशासनले नेपाल–भारत सीमानाका बेलहिया, कर्करहवा, लुम्बिनी लगायत क्षेत्रमा सुरक्षाको व्यवस्था कडा पारेको जनाएको छ । लुम्बिनी भ्रमणका लागि म्यानमारका राष्ट्रपति विन माइन्ट आज आउने भएका छन् । सम्मेलन समापनपछि भदौ १६ गते श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना लुम्बिनी भ्रमणमा आउँदै छन् ।

भैरहवा क्षेत्रको सीमानाका बेलहिया र लुम्बिनी क्षेत्र लगायत जिल्लाको अन्यत्र सीमानाकाबाट आवातजावत गर्ने व्यक्तिहरुमाथि प्रशासनले निगरानी बढाएको छ । नाकाहरुमा प्रहरी परिचालन गरेर कडा रुपमा चेकजाँच भइरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जिल्लाको सीमावर्ती क्षेत्रमा निगरानी बढाइनुका साथै कडा रुपमा चेकजाँच भइरहेको बताए । उनले सुरक्षा योजना अनुसार सीमानाकामा चेकजाँच, निगरानी, लुम्बिनी लगायत क्षेत्रमा सुरक्षा निकायहरुको पैदल गस्ती, मोबाइल पेट्रोलिङ लगायत सुरक्षा व्यवस्था अन्तर्गतका कार्यहरु भइरहेको जानकारी दिए ।

उनले भने, ‘खुल्ला सीमाना भएका कारण केही अपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा क्षेत्रको सुरक्षा कडा पारिएको छ ।’

त्यस्तै उनले लुम्बिनीको सुरक्षा चुस्त दुरुस्त रहेको बताउँदै दुवै राष्ट्रपतिलाई भीभीआइपी सुरक्षामा लुम्बिनी भ्रमण गराइने बताए ।

यस्तै रुपन्देही प्रशसानले म्यानमारका राष्ट्रपति आउनु अघि मंगलबार सुरक्षा व्यवस्थासम्बन्धमा ग्रान्ड रिहर्सल गरेको छ । भैरहवा विमानस्थलदेखि लुम्बिनीमा रहेको हेलिप्याड, मायादेवी मन्दिर, राष्ट्रपति/भीभीआईपी पाहुना बस्ने होटल लगायत पाहुना जाने रुटमा ग्रान्ड रिहर्सल गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार