इलाममा यसरी मनाइयो गाईजात्रा (१० तस्वीर)

  सुजता सुनुवार
0 Shares

इलाम : परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार इलाममा विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । नेवार समुदायमा नाग पञ्चमीका दिनदेखि परम्परागत रुपमा यो सांस्कृतिक पर्व सुरु भई कृष्ण जन्मअष्टमीका दिन अन्त्य हुने गर्दछ ।

एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइएको नेवा देय दवुका केन्द्रिय सदस्य कमल श्रेष्ठले बताए ।

उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान समेत गरिनेछ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रही आएको बताइएको छ ।

यो पर्व जिल्लाको इलाम नगरपालिकाको इलाम चोक बजार, गोदक, सुर्योदय नगरपालिकाको फिक्कल, कन्याम, समाल्बुङ्ग, फाकफोकथुम गाउँपालिकाको फूँएतप्पा, माईनगरपालिकाको दानाबारी, देऊमाईनगरपालिकाको मंगलबारे जस्ता क्षेत्रमा मनाउने गरिएको सदस्य श्रेष्ठले जानकारी दिए ।

काठमाडौंबाट नेवार समुदाय व्यापारका लागी १९६० सालमा बसाई सरी इलाम आइपुगेको इतिहासविद्को भनाई छ । यही समयबाट यो पर्व इलाममा मनाउन सुरु गरिएको थियो । पछिल्लो समय इलाममा २००९ सालपछि नेवार समाज इलाम र २०४८ सालबाट नेपाल भाषा तथा संस्कृति समाज संस्था नै गठन गरेर संस्थागत रुपमा यो पर्व मनाईदै आएको छ ।

 

२०६८ सालको जनगणना अनुुुसार इलाममा १० हजार ४७९ जनसंख्या रहेको तथ्याङ्कमा उल्लेख छ । नेवा दे दवु केन्द्रिय समितिका अनुसार प्रदेश नम्बर एकमा करिब दुई लाख भन्दा बढी सख्यामा नेवार समुदायको बसोबास रहेको छ ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार