सार्वजनिक बिदामा पनि इलामका सरकारी कार्यालय खुल्लै

नयाँ बुलन्द

इलाम : प्रदेश १ को सरकारले गरेको निर्णयलाई सोही प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले नै अवज्ञा गरेका छन् ।बकर–इद (इदुल जोहा) पर्वको अवसरमा प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि यहाँका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला नै रहेका छन्।

प्रदेश सरकारको निर्णयलाई अवज्ञा गर्दै इलाम जिल्लामा रहेका संघीय सरकार मातहतका विषयगत कार्यालयहरुले नियमित कार्यसम्पादन गरिरहेका छन् ।

प्रदेश सरकारले मंगलबार एक सूचना जारी गर्दै बकर–इद (इदुल जोहा)को अवसरमा बुधबार सार्वजनिक बिदा दिन सबै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै २९ चैत २०७४ को मन्त्री परिषदको बैठकले निर्णय गरी राजपत्रमा समेत प्रकाशित भएको जानकारी सहित बकर–इद (इदुल जोहा) पर्वमा बुधबार सार्वजनिक विदा दिन जानकारी गराएको थियो ।

यता जिल्ला प्रशासन कार्यालयहरुले भने संघीय सरकारबाट आधिकारिक रुपमा केही जानकारी नआएको भन्दै सार्वजनिक विदा दिएनन् । स्थानीय तह र शैक्षिक संस्थाहरुमा भने विदा दिईयो ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले भने गृह मन्त्रालयबाट बिदा सम्बन्धी आधिकारिक पत्र नआएकोले संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरुमा विदा नगरिएको नयाँ बुलन्दलाई बताए । बुधबार जिल्ला प्रशासन कार्यालय,  कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला हुलाक कार्यालय लगायतले बिदा कार्यान्वयन गरेनन् ।

यस अघी पनि साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि प्रदेश भरका विषयगत कार्यालयहरु खुल्ला नै रहेका थिए । यस्ले गर्दा देशमा संघियता लागू भएपनि आवश्यक समन्वयको अभाव देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार