नयाँ मुलुकी ऐन कार्यान्वयनमा नआउँदै विरोध

काठमाडौं : मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको मुलुकी संहिता कार्यान्वयन हुन केही घन्टा बाँकी छ ।

जंगबहादुर राणाको पालामा बनेको मुलकी ऐनलाई प्रतिस्थापन गर्न आएको यो ऐन भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदैछ । तर, यो ऐनको कार्यान्वयन सुरु नहुँदै विरोधका आवाज उठेका छन् ।

भदौ १ गतेदेखि मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसुर सजाय निर्धारण र कार्यान्वयन संहिता कार्यान्वयनमा आउँदैछन् ।

यी पाँचओटा संहिता प्रारम्भ भएसँगै २०२० सालको मुलुकी ऐन विस्थापित हुनेछ ।

ऐनमा भएका प्राविधिक त्रुटि र केही प्रावधान संशोधन गरेर ऐन कार्यान्वयनमा ल्याउन लागिएको हो । नयाँ ऐनले मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ ।

कानुन पारित भएको एक वर्षपछि मुलुकी संहिता कार्यान्वयन हुन लागे पनि ऐन कार्यान्वयन नहुँदै विरोधका आवाज उठेका छन् । विशेषगरी चिकित्सक र पत्रकारले मुलुकी संहिता विधेयकको विरोध गरेका छन् ।

विधेयकका केही प्रावधानले चिकित्सकलाई पेसाबाट नै विमुख गराउनसक्ने भन्दै उनीहरुले विधेयक नसच्याए लाइसेन्स नै मेडिकल काउन्सिललाई फिर्ता गरिदिने चेतावनी दिएका छन् ।

यस्तै, सन्चारकर्मीले मुलुकी अपराध संहितामा वैयक्तिक गोपनियता, गाली–बेइज्जतीसम्बन्धी व्यवस्था पत्रकारको पेसासँग जोडिएको र यसले पेसागत जोखिम बढेको भन्दै विरोध गरेका छन् ।

तर, कानुनमन्त्री भानुभक्त ढकाल कतिपय कुरामा रहेका असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढ्न सरकार तयार रहेको बताउँछन् ।

त्यसो त कानुन व्यवसायीले पनि लामो समयपछि मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको नयाँ ऐन विशेष सजगताका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् ।

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले मुलुकी ऐनको सही कार्यान्वयन गर्न नसके मुलुक नै अप्ठ्यारोमा पर्ने बताए ।

वि.सं. १९१० मा जंगबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौंपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनकारुपमा लागू भएको थियो ।

यो कानुन लागू भएको ५५ वर्षपछि प्रतिस्थापन मुलुकी ऐन लागू हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार