जिल्ला अस्पतालको चरम लापारवाही, नभाँचिएको हातमा प्लास्टर

पर्वत : जिल्ला अस्पतालको चरम लापरबाहीका कारण एक बिरामीको सद्दे हात भाँचिएको भन्दै प्लास्टर गरिदिएको छ । विगतमा समेत अनेकौँ विवादमा पर्दै आएका जिल्ला अस्पतालले एक १६ वर्षीय बालकको हात भाँचिएको भन्दै प्लास्टर गरेर पठाएको हो ।

गत १९ साउनमा कुश्मा नगरपालिका–५ बगैँचाचोक बस्ने सीता बरालका १६ वर्षीय छोरा रोशन बराल नुहाउनका लागि बाथरुम जाने क्रममा लडे । लडेपछि उनको दाहिने हातमा बाहिरी कुनै चोट नलागे पनि केही दुःखेको अनुभव भएपछि भोलिपल्ट दुवै जना जिल्ला अस्पताल पुगे । त्यहाँ पुगेपछि डा. विनित थापाले उनको चेकजाँच गरेको सीताले बताइन् । त्यस लगत्तै थापाको टोलीले भाँचिएको आशंकामा एक्स–रे गरे । रिपोर्ट आएपछि अस्पतालले हातको कुहिनामा दुई ओटा हड्डी भाँचिएको जानकारी दियो । रोशनकी आमा सीताले भनिन्, ‘डाक्टरले कुहिनाको दुई ओटा हड्डी भाँचिएको छ । एउटा त प्लास्टरले जोडिन्छ अर्को भने जोडिन केही समय लाग्न सक्ने वा तत्काल अलि भर हुन्न भने ।’ डाक्टरको सल्लाह बमोजिम नै उनले १ हजार ५ सय १५ रुपैयाँ तिरेर रोशनको हातमा प्लास्टर गराएर फर्किन् ।

एउटा हड्डी जोडिने तर अर्को नजोडिन सक्ने चिकित्सकको सुझावपछि उनले केही राम्रो अस्पतालमा पुनः चेकजाँच गराउने निर्णय लिइन् । कलिलै छोराको हात पुनः बिग्रने डरले उनले रोशनलाई पोखराको फेवासिटी हस्पिटलमा लगिन् । फेवासिटीका हाडजोर्नी रोग विशेषज्ञ डा.दिनेश विकसँग घटना र पर्वत जिल्ला अस्पतालमा भएको रिपोर्ट देखाइन् । डा.विकले रोशनको सामान्य चेकजाँचमै रोशनको हातै नभाँचिएको बताए । सीतालाई द्विविधा प¥यो एउटा डाक्टरले भाँचियो भन्ने अर्कोले भाँचिएको छैन भनेपछि । तर, डा. विकले पुन एक्सरे गराएर सीतालाई देखाइदिएपछि उनी छक्क परिन् । जिल्ला अस्पतालबाट पीडित बनेकी सीताले भनिन्, ‘छोराको हात भाँचियो भनेर लगेको तर पोखराको डाक्टरले त नभाँचिएको हातमा किन प्लास्टर गरेको ? भन्दै फुकाइदिए ।

‘कुश्मामा १५ सय तिरेर लगाएको प्लास्टर फुकाइदिएर पोखराको डाक्टरले ४५ रुपैयाँको औषधि दिएपछि अहिले दुःखाइ हट्यो’, उनले भनिन् । जिल्लाको कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदनको कक्षा ९ मा पढ्ने रोशन अहिले नियमित विद्यालय गइरहेका छन् भने कुनै पनि समस्या नरहेको परिवारले जानकारी दिएको छ । सौर्य दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार