उद्योग स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

प्रधानमन्त्री ओलीले नेपाल उद्योगको स्थापना मार्फत नेपालमा अविकास, गरिबी र पछौटेपन हटाउनुपर्ने बताए । “यो अभियान हामीले नेपाल मात्र होइन दक्षिण एशियामा नै सञ्चालन गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले अब स्थापना हुने उद्योगहरु प्रविधि मैत्री हुने पर्ने बताए । उनले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनुपर्ने बताए ।

केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा छर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । निराश जनता देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले भने “आम जनतामा आत्मविश्वास बढाउनु र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो । जसले जनतामा आशावादीता बढेर जान्छ । ”

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “देशको जनसंख्यामा काम गर्न सक्नेहरुको बाहुल्यताको अवस्था छ” प्रधानमन्त्री ओलीले भने, “यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको कुरा प्रचार गर्न नेपाली उद्यमीहरुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार