विकास र समृद्धिका चुनौतिहरु

  • खेम साम्पाङ राई

जनताको लामो संघर्षबाट प्राप्त भएकोनेपालको संविधान २०७२ ले देशलाई विकास र समृद्धितर्फ निर्देशित गरेको छ । जसका लागि तीन तहको संघीय संरचना सहितको शासकीय स्वरुप निर्धारण गरेको छ । यसैको आधारमा संघ, प्रदेश र स्थानीय स्तरका सरकारहरु गठन गरिएका छन् । जसले संघीयताको कार्यान्वयनसँगै देशलाई विकास र समृद्धितर्फ अगाडि बढाउन आआफ्ना नीति, योजना र कार्यक्रमहरु तयार गरी कार्यान्वयन गरिरहेका छन् ।

विकास भन्ने वित्तिकै सकारात्मक परिवर्तनसँग सम्वन्धित हुन्छ । देशको सामाजिक,आर्थिक, साँस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा आउने गुणात्मक परिवर्तन नै देशको समग्र विकास हो । विकासले देशलाई अग्रगतितर्फ डोहोर्याएको हुन्छ । यतिबेला हामी दीगो विकासको लक्ष्यसँगै नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रको स्तरमा उकास्नेर सन् २०३० भित्र मध्यम आय भएको राष्ट्रको सूचीमा पुर्याउने लक्ष्यका साथ अघिबढिरहेका छौं । यसले के देखाउँछ भने हामी कहिलेसम्ममा कहाँ पुग्नेछौं भन्ने कुरा स्पष्ट गर्दछ । तर त्यस ठाउँसम्म पुग्ने खुड्किलाहरु निर्माण गर्दा कतै ठाउँ बिराउँदै त छैनौं भन्ने कोणबाट पनि अन्तरविमर्श हुन जरुरी छ । यसका लागि हामीले के कस्ता नीति तथा कार्यक्रमहरु कसरी तयार गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण छ । जसका लागि देशमा विद्यमान स्रोत, साधनहरुको सहि पहिचान र परिचालन गरी देशको वास्तविक धरातलमा उभिएर जनताका खास समस्याहरुलाई सम्बोधन गर्ने खालका नीति तथा कार्यक्रमहरु तर्जुमा गर्नआवश्यक छ ।

आज देशको मुख्य चुनौति भनेकैसंघीयताको संस्थागत विकास गरी देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउनु हो । सबै प्रदेश र स्थानीय तहहरुमा यतिबेला भौतिक संरचना र जनशक्ति व्यवस्थापन, प्रदेशका नामाङ्कन, जनप्रतिनिधिहरुको क्षमता विकास, अधिकारको प्रयोग, आवश्यक कानूनहरुको निर्माण, जनताका इच्छा र चाहना अनुसारको विकास आदि चुनौतिहरु रहेका छन् । यी पक्षहरु भनेका हाम्रा विकास र समृद्धिका आधारभूत चुनौतिहरु नै हुन् । जसको परिपूर्ति विना विकास र समृद्धिको जग बसाउन निकै कठिन छ । यसका साथै हाम्रो देशमा मौलाइरहेका नीतिगत, संस्थागत र प्रवृत्तिगत भ्रष्टाचारकोअन्त्य गर्ने, नेपाली राजनीतिलाई डन, माफिया र तस्करहरुको पञ्जाबाट मुक्त गर्ने, सिण्डिकेट, कालोबजारी, अप्राकृतिक गठजोड आदि कूनियतबस् हुने कार्यहरु निरुत्साहित गर्नु निकै नै चुनौतिपूर्ण काम छ ।

यस्ता गम्भीर प्रकृतिका समस्याहरुको समाधान नगरेसम्म विकास र समृद्धिको सपना पुरा हुन सक्दैन । यसै गरी संघ, प्रदेश र स्थानीय तहबीच विकास निर्माण लगायत अन्य पक्षहरुमा उचित समन्वय गर्ने, पूर्वाधार निर्माण गर्ने, लगानीमैत्री वातावरण तयार गर्ने, विकास र समृद्धिका लागि राष्ट्रिय पूँजी निर्माण गर्ने, विश्वव्यापीकरणको सामनासँगै आधुनिक प्रविधिमैत्री विकास गर्ने, वातावरणमैत्री दीगो विकास गर्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा देशको स्वाभिमान उच्च राख्ने विद्यमान चुनौतिहरु छन् । यी यावत चुनौतिहरुलाई सरकारलेमात्र समाधान गर्न सक्दैन, त्यसैले प्रतिपक्ष र आम सरोकारवालाहरुको पनि सहयोग अवश्य चाहिन्छ । त्यसैले विकास र समृद्धिका लागि सबैले रचनात्मक सहयोगतर्फ अग्रसर हुन जरुरी छ ।

नेपाली जनता लामो समयसम्म व्यवस्था बदल्न संघर्षरत रहनु पर्यो । यहि संघर्षको प्रतिफल स्वरुप नयाँ संविधान प्राप्त भएको छ, भलै यसमा अझै धेरै कुराहरु छुटेका छन् । छुटेका कुराहरुलाई थपेर यसलाई पूर्णता दिन आवश्यक छ । हाम्रो देशको व्यवस्थामा सुधार आएपछि अवस्था बदल्न लड्नुपर्ने जुन उदघोष भइरहेको छ । अवस्था भन्नाले हाम्रो जीवनमा सुधार ल्याउनु हो । हामीले बाँचिरहेको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु हो । हाम्रो सिङ्गो सामाजिक जनजीवनलाई सहज, सरल, सुखी र समृद्धशाली बनाउनु हो । यो भनेको विकास र समृद्धि नै हो । यसलाई साकार पार्न हाम्रा परम्परागत व्यवहार, प्रवृत्ति, चिन्तन, सामाजिक मूल्य मान्यता र कार्यशैलीमा परिवर्तन ल्याउन जरुरी छ । तर आज दृष्टिमा परिवर्तन आए पनि दृष्टिकोणमा परिवर्तन नआएको हो कि जस्तो व्यवहारहरु देखिन थालेका छन् । युवा जमातमा परिवर्तनको बलशाली विचार संप्रेषण गर्न सफल युवा नेतृत्वहरुले नै निराशाजनक व्यवहार, कार्यशैली देखाउन थालेका छन् । यस्ता प्रवृत्तिहरुले हामीलाई पुनः पुरानै खाडलमा पुर्याउने पक्का छ । त्यसैले यस किसिमको प्रवृत्तिहरुको अन्त्य गरी युवा पुस्ताले आफ्ना व्यवहार, प्रवृत्ति र कार्यशैलीमा नयाँपन दिन सक्नुपर्छ । बिग्रिसकेको केहि छैन तर सुधार गर्न धेरै बाँकी छ । नेपालको वर्तमान अवस्था भनेको सुधारको बाटोमा अघि बढ्ने नै हो । यसलाई न शुन्यबाट शुरु गर्न सकिन्छ न त झट्ट नयाँ बनाउनै सकिन्छ । त्यसैले नेपालको अहिलेको परिस्थिति भनेकोप्राप्त उपलब्धीहरुको सहि सदुपयोग गर्दै अघि बढ्नु नै हो । यसो भयो भने मात्र हामीले खोजेको जस्तो परिवर्तन भई नेपाली समाजको अवस्थामा सुधार ल्याउन सकिन्छ ।

विकास र समृद्धिका लागि सरकार मात्र होइन प्रतिपक्ष पनि त्यतिकै जिम्मेवार हुन जरुरी छ । प्रतिपक्षले सरकारका राम्रा वा आम जनताको पक्षमा गरिएका कार्यहरुको समर्थन गरी रचनात्मक सहयोग गर्नु उसको धर्म हो । जनहित विपरित वा राज्यलाई दुरगामी असर पार्ने विषयसँग सम्वन्धित सरकारका कार्यहरुमा खबरदारी गर्नु उसको प्रमुख कर्तव्य हो । तर हाम्रो देशका राजनीतिक दलहरुबाट यस्तो कार्य कमै भएको पाइन्छ । विपक्षी राजनीतिक दलबाट उठाइएका राम्रै कार्यहरुको पनि विरोधको लागि विरोध गरिदिने संस्कार हामी माझ छ । यसको प्रभाव दलका आम कार्यकर्तासम्मै व्याप्त छ । जसले गर्दा नेपाली राजनीतिक वृत्तमा विपरित राजनैतिक ध्रुवबाट उठेका जुनसुकै कदमहरुको विरोध गर्नुपर्छ भन्ने प्रवृत्ति हावी छ । यो असल राजनैतिक चरित्र, संस्कार होइन । जबसम्म यस्ता खालका प्रवृत्तिहरु हावी हुन्छन् तबसम्म विकास र समृद्धिले सहि मार्ग लिन सक्दैन । त्यसैले सबैभन्दा पहिला यस किसिमका प्रवृत्तिहरुको अन्त्य गरी सौहार्दपूर्ण राजनैतिक संस्कार र संस्कृतिको विकास गर्न जरुरी छ । यसो भएमात्र हामीबीच रहेका सबै प्रकारका चुनौतिहरुका सामना गर्न सफल भई देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार