अदुवाको भाऊ आएपछि किसान उत्साहित

सुजता सुनुवार

इलाम : माऊकै मूल्य उच्च पाएपछि इलामका अदुवा उत्पादक किसान उत्साहित भएका छन् । भारत निर्यात सहज हुदाँ यस वर्ष अदुवाको मूल्य किलोको दुई सय देखि पाँच सय रुपैयाँसम्ममा विक्री हुन थालेपछि किसान हर्षित भएका हुन् ।

गतवर्ष मुस्किलले प्रतिकेजी १२ रुपैँयामा विक्री गरेको फाकफोकथुम गाउँपालिका १ की कृष्णमाया निरौलाको भनाई छ । उनी भन्छिन्, विक्री नभएकै कारण यस वर्ष खेती नै मासेका थियौँ तर अदुवाको भाऊले छक्याएको छ । अब अर्को वर्ष फेरी खेती सुरु गर्ने सोचमा छौँ ।

पहिले भारतले निकासीमा अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या थियो । व्यवसायीक किसानको सावाँ समेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै नगरेको पाइएको छ । यो वर्ष अदुवा ५० प्रतिशतले कम उत्पादन भएको इलाम नगरपालिका ५ भोर्लेनीका व्यापारी लेखनिधि न्यौपानेले जानकारी दिए ।

उनका अनुसार वि. सं. २०७० सालपछिको अदुवाको राम्रो भाऊ आएको यसै वर्ष हो । उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाऊ राम्रो आएको हुनसक्ने व्यापारी न्यौपानेले बताए । यस वर्ष साउनको अन्तिम सातासम्ममा साडे एक करोड भन्दा बढीको अदुवा इलामबाट निर्यात भएको बताइएको छ ।

प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँच जिल्लाका धेरै किसान व्यवसायीक अदुवा खेती गरी जिविकोर्पाजन गरीरहेका छन् । जिन्जर प्रोफाइलका अनुसार, इलाममा तीन हजार दुई सय ३३, पाँचथरमा छ सय ६१, धनकुटामा दुई सय ४९, तेह्रथुममा दुई सय १२ र झापामा तीन सय ४२ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो वर्ष ६५ लाख ८२ हजार आठ सय ९७ किलो अदुवा निकासी भएको छ । जसमा इलामबाट ४५ हजार नौ सय ९४, पाँचथरमा आठ हजार आठ सय ३९, धनकुटामा चार हजार नौ सय ३३ , तेह्रथुममा तीन हजार दुई सय ७७ र झापामा चार हजार पाँच सय ८३ मेट्रिकटन अदुवा उत्पादन भएर निकासी भएको छ । मेची भन्सार कार्यलय काकरभिट्टाबाट मात्र २० हजार ५१ मेट्रिटन अदुवा भारत निकासी भएको कार्यलयका सुचना अधिकारी रमेश खतिवडाको भनाई छ ।

कार्यलयका अनुसार सन् २०१७ मा नेपालबाट रु १४ करोड ७७ लाख ५८ हजार ५२९ रुपैयाको अदुवा भारत निकासी भएको छ भने सन् २०१८ मा रु १५ करोड पाँच लाख ५७ हजार निर्यात भएको अधिकारी खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार