अराजक सुशासन

शासनसत्ता व्यक्तिले आफ्नो धारणाअनुसार फरकफरक तरिकाबाट बुझेको हुन्छ । कुनै शासनसत्ता व्यक्ति अनुसार खराब र कुनै असल । वास्तवमा धारणा सहि वा गलत जे भएपनि यसले सुशासन प्रष्ट्याउन सक्दैन । राजनीतिक परिवेश बुझेका वा राजनीतिसँग जोडिएर रहेका हरेक जिम्मेवारीपनहरु हुन सक्छन् । यस्ता खालका जिम्मेवारीपन बोकेका असल शासकद्वारा संचालन भएको शासन सत्ता सुशासन हो ।

हालै नेपालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनद्वारा निर्वाचित भएर गएका जनप्रतिनिधिहरु यतिखेर कुन सुशासनमा छन् त ? विकसित र संमृद्ध समाज, सामाजिक कल्याण, जनताप्रतिको उत्तरदायित्व बुझेका शासक यतिबेला के गर्दै छन् त ? हाम्रो समाज अझै पनि यहि प्रश्नहरु गर्दै गुनासो पोखिरहेको छ । एकछिन यसको चर्चा गरौँ । वास्तवमा गुनासो गुनासोमा सीमित रहनु पनि सुशासन हो त ? विकासका लागि चाहिने पूर्वाधारहरु सडक, विद्युत्, खानेपानी लगायतका आम चासोमा रहेका विषयवस्तुहरुमा हाम्रा प्रतिनिधिहरु यतिखेर यो र त्यो भन्नमा नै व्यस्त देखिन्छन् । यसको मत्लव राजनीतिक जिम्मेवारीपन र वैधानिकता माथि प्रश्न चिन्ह खडा हुन सक्छ । आफ्ना मतदाताहरुको इच्छा र आकांक्षाहरुको कदर गर्नु र उनीहरुका विकास निर्माणका कार्यमाथि ध्यान पुर्याउनु पनि असल शासन हुन सक्छ ।

वास्तवमा भन्ने हो भने नेपालमा राजनीतिक संस्कारको विकाश भइनसकेका प्रतिनिधिहरु निर्वाचनअघि नरम हुने र निर्वाचनपछि कठोर भएका छन् कि भन्ने भावनाको विकाश आम जनतामा यतिखेर उत्पन्न भएको छ । यस्ता खालका विषयबस्तुहरु अझ स्थानीय तहदेखि नै देखापरेका छन् । व्यक्ति व्यक्ति मिल्नु सफल परिवार हो । परिवार परिवार मिल्नु सफल समाज हो र समाज समाज मिल्नु सफल सामाजिक विकास हो । समाजका कतिपय धार्मिक, सांस्कृतिक र वौधिकता बुझेका स्थानीय सरकारहरु नै यसमा मौन बसेको देखिन्छ । मौन बस्नु कत्तिको स्वार्थी भावना हो त ? समाज परिवर्तन गर्छु भनेर लागि परेका व्यक्तिहरु नै सुशासनको दायरामा नभएपछि के देश विकाश होला र ? व्यवसायीहरु तथा कृषि पेसामा आवद्ध आम जनतलाई बजार व्यवस्था तथा व्यापारमा सुलभ हुने खालको व्यापार नीति खोइ त ? अहिले पनि कृषकहरु चरम मारमा परेको कुरा सरकारलाई ज्ञात नै होला ।

भारतसँगको खस्कँदो व्यापारले एकातर्फ सामानको ढुवानी रोकिएको छ अर्कोतिर गोदाम लगायतका भण्डारण स्थल नहुँदा सामानहरु कुहिएर जाने अवस्थामा रहेको छ । यस्ता विविध विषयमा सरकारले ध्यान नदिनु कतिसम्मको शासन सत्ता हो त ? यस्तै अर्को पूर्वाधार सडकको पनि यस्तै दुर्दशा छ । जब जब असार तव तव विकास अनि कहाँ बाट हुन्छ त सफल शासन सत्ता ? सडक बनाउन त के खाल्डा खुल्डी पुर्नमा नै कठोर भइसकेको सरकारले के दायित्वको बोध गर्ला र ? विकासशील मुलुकहरुमा नीतिको निर्माण हुन्छ तर तिनको ठिक तरिकाबाट कार्यान्वयन हुँदैन । योजनाहरु निर्माण हुन्छन् तर लक्ष्य प्राप्त हुन सक्दैन ।

अन्तर्राष्ट्रिय स्तरबाट पनि यसको निक्र्योल हुने गरेको छ । कुशल प्रशासकीय निकाय यस्मा प्रभावकारी छैनन् । राजनीतिक दल, संसद्, सरकार र कर्मचारीतन्त्र जस्ता संस्थाहरु उच्च व्यक्तिबाद र सर्वसत्ताबादवाट मुक्त रहन सकेका छैनन् । यसको अर्थ अराजक सुशासन ग्रस्त छ । यस्ता प्रश्नहरुको संयोजनहरुबाट नै सुशासनको परिचय पाउन सकिन्छ । यसतर्फ सवै सरोकारवाला तथा सकारको ध्यान जान अति जरुरी देखिएको छ । सम्पूर्ण जनतालाई यस्ता खालका समस्याहरुबाट पार लगाउँदै अति सफल शासन गर्नमा सरकार जिम्मेवार भएर लागोस् यसको शुभकामना ।

(लेखक महेन्द्र रत्‍न बहुमुखी क्याम्पस इलाम स्‍नातक तह तेस्रो वर्ष राजनीतिशास्त्रका विद्यार्थी हुन्) 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार