सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्ध : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (केपी) ले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको ,पार्टीको कयौं नेता, कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताए ।

माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?” प्रधानमन्त्री ओलीको प्रश्न छ “अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?”

“नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हँुदैन” प्रधानमन्त्री ओलीले भने “यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।”
प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने बताए । केही

सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे । प्रधानमन्त्री ओलीले भने, “अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ ।”

प्रधानमन्त्री ओलीले १० बर्षमा नेपालको कायाकल्प गर्न सकिने बताए । कृषिमा आश्रित जनसंख्यालाई दुई वर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेल लगायत कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार