प्रदेश सरकारलाई जिल्ला प्रशासन कार्यालयले टेरेन

विश्व आदिवासी दिवसमा विहीबार विदा दिईएन

नयाँ बुलन्द

इलाम : प्रदेश १ को सरकारले गरेको निर्णयलाई सोही प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले नै अवज्ञा गरेका छन् । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले विहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि यहाँका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला नै रहे ।

प्रदेश सरकारको निर्णयलाई अवज्ञा गर्दै इलाम, झापा, पाँचथर, ताप्लेजुङसहित प्रदेशका संघीय सरकार मातहत रहेका विषयगत कार्यालयहरुले नियमित कार्यसम्पादन गरे । प्रमुख जिल्ला अधिकारीले प्रदेश सरकारको निर्णय अटेर गर्दै सरकारी कार्यालयमा बिदा नदिएको यो पहिलो पटक हो ।

प्रदेश सरकारले बुधबार एक सूचना जारी गर्दै विश्व आदिवासी दिवसको अवसरमा विहीबार सार्वजनिक बिदा दिन सबै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै २९ चैत २०७४ को मन्त्री परिषदको बैठकले निर्णय गरी राजपत्रमा समेत प्रकाशित भएको जानकारी सहित विश्व आदिवासी दिवसमा विहीबार सार्वजनिक विदा दिन जानकारी गराएको थियो ।

यता जिल्ला प्रशासन कार्यालयहरुले भने संघीय सरकारबाट आधिकारिक रुपमा केही जानकारी नआएको भन्दै सावैजनिक विदा दिएनन् । स्थानीय तह र शैक्षिक संस्थाहरुमा भने विदा दिईयो ।

इलामका निमित्त प्रमुख जिल्ला अधिकारी देवीचरण फुयलले गृह मन्त्रालयबाट बिदा सम्बन्धी आधिकारिक पत्र नआएकोले संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरुमा विदा नगरिएको नयाँ बुलन्दलाई बताए । विहीबार जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय, नापी नापी कार्यालय, जिल्ला हुलाक कार्यालय लगायतले बिदा कार्यान्वयन गरेनन् ।

यसले देशमा संघियता लागू भएपनि आवश्यक समन्वयको अभाव देखिएको छ । प्रदेश सरकारको निर्णय जिल्ला प्रशासन कार्यालयले नै नमान्दा प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । यसअघि २ नम्बर प्रदेश सरकारले गरेको सार्वजनिक बिदामा भने त्यहाँका सबै कार्यालयले कार्यन्वयन गरेका थिए ।

यता प्रदेश सरकारले विश्व आदिवासी दिवसका दिन गरेको सार्वजनिक विदालाई कार्यान्वयन नगरेको भन्दै आदिवासी सम्बद्ध संघसंस्थाहरु आक्रोशित भएका हुन् । आदिवासीको पहिचानका लागि संगठित नेपाल आदिवासी जनजाति महासंघ सहित विभिन्न जातीय संघसंगठनहरुले जिल्ला स्तरबाट विदा कार्यान्वयन नभएको भन्दै चर्को विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार