दशगजा क्षेत्रभित्र एसएसबीले बनायो सबबेस क्याम्प

इलाम : नेपाल भारत सिमावर्ती दशगजा क्षेत्रमा भारतीय सिमा सुरक्षा बल एसएसबीले सब बेसक्याम्प निर्माण गरेको छ । इलाम पशुपतिनगरदेखि करिब ४–५ किलोमिटरको दुरीमा पर्ने पुलखोलाको दशगजा क्षेत्रमा एसएसबीले सबबेस क्याम्प निर्माण गरेको हो । अन्तराष्ट्रिय सिमा सम्बन्धि कानुनमा दशगजा क्षेत्रभित्र कुनैपनि संरचना निर्माण गर्न पाइँदैन ।

एसएसबिले सो क्षेत्र भारतीय क्षेत्र भएकाले क्याम्प निर्माण गरेको जनाएको छ । तर पशुपतिनगर स्थित सिमा प्रशासन कार्यालयका प्रमुख मोहन पनेरुले एसएसबीले दशगजा क्षेत्रभित्र सबबेस क्याम्प निर्माण गरेको दाबि गरे । ‘एसएसबीले त्यो क्षेत्रलाई घेराबारा गर्न खाजेको थियो’ पनेरुले भने तर हामिले यो दशगजा क्षेत्र भएकाले घेराबार नगर्न भनेका छौं ।’ सबबेस क्याम्प समेत चाँडो हटाउन आग्रह गरेको पनेरुले बताए । स्थानीय बासिन्दाले पनि एसएसबीले सबबेस क्याम्प राखेको स्थान दशगजा क्षेत्र भित्र नै परेको बताएका छन् ।

सम्भारको अभावमा सीमास्तम्भ जीर्ण, हराउने क्रम पनि जारी

यसै क्रममा भारतसंग सिमा जोडिएका जिल्लाका बिभिन्न स्थानमा गाडिएका मुख्य तथा सहायक सिमा स्तम्भहरु मर्मत संभारको अभावमा जिर्ण अवस्थामा पुगेको छ । कतिपय सिमा स्तम्भ हराउनेक्रम पनि रहेको छ । सिमा स्तम्भको मर्मत सम्भार, रेखदेख र पूर्ण निगरानी गर्ने जिम्मा पाएकोसीमा प्रशासन कार्यालयले जिल्लाका सिमावर्ती क्षेत्रमा गाडिएका अधिकाँश सिमा स्तम्भ जिर्ण अवस्थामा रहेको जनाएको छ ।

कार्यालय प्रमुख पनेरुले हालसम्म पाँचवटा सिमा स्तम्भ हराएको जनाए । जिल्लाको माईमझुवादेखि जिर्मलेसम्म जङ्गे, सहायक र सामान्य गरी जम्मा एकसय १६ वटा सिमास्तम्भ रहेको छ । ती मध्ये अधिकाँश मर्मत संभारको अभावमा जीर्ण अवस्थामा छ । माईमझुवादेखि छब्बिसेसम्म १८ देखि २६ नम्बरसम्मका नौ मुख्य स्तम्भ (जङ्गे पिल्लर) छन् ।

त्यस्तै छब्बिसेदेखि तराईको सीमा क्षेत्रसम्म १६ वटा स्तम्भ रहेका छन् । पशुपतिनगरमा रहेका तीन साना ७१÷२१, ७१÷२२ र ७१÷२३ नम्बरका स्तम्भ हराएका छन् । श्रीअन्तुमा रहेको ७२÷४ नम्बरको सहायक स्तम्भ र जोगमाईको ३ मेघ्मामा रहेको ७५÷४ नम्बरको मझौला स्तम्भ हराएको छ ।

सीमास्तम्भ ब्यवस्थित नहुँदा मेघ्मा, तुम्लिङ, हिले, लामिधुरा, छब्बिसेलगायत दर्जनभन्दा बढी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले समय–समयमा नेपाली भूमि अतिक्रमण गर्ने गरेको छ । सीमास्तम्भको मर्मत सम्भार, जीर्णाेद्धार, रङरोगन लागि केन्द्रबाट पहल सुरु भएको प्रमुख पनेरुले जानकारी दिए ।newsofnepal बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार