राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने पक्का

पाँचथर : पाँचथर, इलाम, धनकुटा, तेह्रथुम र मोरङ जिल्लावासी लाभाविन्वत हुने वहुप्रतिक्षित राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने भएको छ ।

१०३ किलोमिटर लामो बहुप्रतिक्षित यो सडकको कालोपत्रेका लागि अर्थ मन्त्रालयले सोमवार अनुमति दिइसकेको र आयोजना निर्माणका लागि भारतीय एग्जिम बैङ्कबाट स्वीकृति प्राप्त भएको प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले जानकारी दिए ।

सडक ७ मीटर चौडाको बन्नेछ । ३ वर्ष भित्र निर्माण सम्पन्न हुने गरि यसै हप्ता आयोजनाको कालोपत्रेका लागि ठेक्का आव्हान हुने सांसद् नेम्वाङले जानकारी दिए । यो सडक कालोपत्रे हुने सुनिश्चित भएको भन्दै नेम्वाङले खुशि व्यक्त गरे ।

सडक निर्माणको कालोपत्रेका लागि पहल गर्दै आएका प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको यो सडक निर्माण हुने निश्चित भएको वताए ।

मन्त्री आङ्बोले पाँचथर, इलाम र धनकुटाको मेरुदण्डको रुपमा रहेको यो सडक निर्माणले उक्त क्षेत्रका स्थानीयको जीवनस्तरमा गुणात्मक परिवर्तन हुने वताँउदै सडककै माध्यमबाट समृद्धिको ढोका खुल्ने वताए ।

तीन दशक अघिबाट यो सडकको निर्माण थालिएको थियो । तर, सडक अहिले पनि वर्षायाममा सञ्चालन हुन सकिरहेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा यो योजना निर्माणका लागि ऋण सहयोग गर्ने घोषणा भारतले गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार