अमेरिकी दुतावास अगाडि दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गएराति पौने २ बजे चक्रपथबाट लाजिम्पाटतर्फ आउँदै गरेको बा१९च ६५१५ नम्बरको पानीको जार ढुवानी गर्ने भ्यान सडक किनारामा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भ्यानमा सवार काठमाडौं भंगाल बस्ने खोटाङ, बोपुङ गाँउपालिका–७ का ३३ बर्षीय राम बहादुर थापा र सिन्धुपाल्चोकको जुगलका ३० बर्षीय पशुपति सिलवाल छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका ३ जनालाई तत्कालै उपचारको लागि शिक्षण अस्पताल महराजगञ्ज पठाइएकोमा थापा र सिलवालको मृत्यु भएको हो । गम्भीर घाइते भएका भ्यान चालक सिन्धुपालचोकका २२ बर्षीय सुरेश पराजुलीको भने सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भ्यान चालक पराजुलीले मदिरा पिएर भ्यान चलाएको स्थानीय प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र ट्रिपरका चालकलाई महाराजगंज वृत्तले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार