केबलको तार चोरेको आरोपमा २८ महिना साउदीमा जेल परेका प्रेम घर फर्किए

इलाम : केबलको तार चोरेको आरोपमा साउदी अरबमा जेल परेका प्रेमबहादुर राई नयाँ जीवन लिएर घर फर्किएका छन् । इलामको माई नगरपालिका-४ दानाबारीका राई २ वर्ष ४ महिना जेल बसेर आइतबार नेपाल आइपुगेका हुन् ।

राईले चलाएको लरीले बोकेको केबल तार चोरी भएपछि कम्पनीले त्यसबापत ३ लाख १० हजार रियाल अथवा ९५ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने बताएको थियो ।

तोकेको रकम तिर्न नसकेपछि कम्पनीले मुद्धा हालेपछि उनी जेल परेका थिए । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमार्फत कम्पनीले तोकेको जरिवाना बुझाएपछि प्रेम नेपाल फर्किएका हुन् ।

सबैको सहयोगले नानीले बाबा भन्न पाइन् :  श्रीमती

प्रेमलाई लिन श्रीमती सरीता राई त्रिभुवन विमानस्थल पुगेकी थिइन् । पत्रकारले घेरिएका प्रेमले आफूलाई जेलबाट निकाल्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथमै रहेकी श्रीमती सरीताले पनि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भनिन् ‘तपाईंहरु सबैको सहयोगले उहाँ फर्किन पाउनुभयो । मेरी नानीले बाबा भनेर बोलाउन पाइन् ।’

नेपाली राजदूतावासको समन्वयमा गठित ‘प्रेम बचाऊ अभियान’ बाट संकलन भएको रकमबाटै बिगो रकम साउदी रियाल अनुसार १ लाख ५० हजार अथवा ४३ लाख ३ हजार ५ सय रुपैयाँ रकम बुझाएपछि कम्पनीले जेल मुक्त गरी नेपाल पठाएको ‘प्रेम बचाऊ अभियान मूल समिति’ ले जनाएको छ ।

बिगो रकम नबुझाइ रिहाई नहुने भएपछि प्रेमको रिहाईको लागि २०७३ असारदेखि नै पहल थालिएको थियो । प्रेम बचाऊ अभियान मूल समिति बनाएर १ वर्ष अघिदेखि नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेर सहयोग रकम संकलन गर्न सुरु गरिएको थियो । सबैबाट साथ सहयोग जुटेपछि पारिवारिक पुनर्मिलन गराउन सफल भएको समितिले जनाएको छ ।

प्रेमबहादुरकी पत्नी सरीता राई छोराछोरीका साथमा ।

यसरी परेका थिए प्रेम जेलमा ?

प्रेम सन् २०१२ जुन १२ तारिकका दिन क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लरी) चालकको रुपमा साउदी गएका थिए । सन् २०१५ सेप्टेम्बर ४ तारिखमा घर आएर २०१६ जनवरी १ तारिखका दिन उनी त्यही कम्पनीमा कामका लागि गएका थिए ।

२०१६ मार्च ३१ तारिखका दिन लरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकी साथीलाई भेट्न गएका थिए । साथी भेटेर फर्कँदा पार्किङ गरेको ठाँउमा गाडी नभेटेपछि कम्पनीलाई जानकारी गराएका थिए ।

कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबीसहित  अदालतमा मुद्धा हालेको थियो । अदालतले तोकेको २ महिना कैद र ५० कोर्राको सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिइ पुनः मुद्धा हालेर ३ लाख १० हजार रियाल अथवा  ९५ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो । क्षतिपूर्ति बुझाउन नसक्दा उनी गएको २८ महिनादेखि साउदी प्रहरीको नियन्त्रणमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार